२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

अमेरिकामा कार दुर्घटनामा परेर दुई नेपाली विद्यार्थीको मृत्यु



अमेरिकाको लुइजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा परेर ज्यान गएको छ । अमेरिकी सञ्चारमाध्यम नोइ न्यूजका अनुसार २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना शनिबार राति अमेरिकी स्थानीय समयअनुसार राति ९ बज्नुभन्दा केही अघि लुइजियाना राज्यको रस्टन शहरमा भएको थियो । तीव्र वर्षाका बीच युएस हाईवे ८० मा गुडिरहेको होंडा एकोर्ड गाडी सडकबाट बाहिरिएर रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

लुइजियाना स्टेट पुलिस का अनुसार गाडी रजन यादवले चलाइरहेका थिए, जसमा रोजिन ओलीसहित थप दुई जना सवार थिए । रुखमा ठोक्किएपछि गाडीमा आगो लागेको थियो ।
यादव र ओलीको घटनास्थलमै ज्यान गएको हो भने बाँकी दुई यात्रु घाइते भई अस्पताल भर्ना गरिएको छ । उनीहरूको अवस्था बारे थप जानकारी दिइएको छैन । प्रहरीका अनुसार मृतकले सीटबेल्ट लगाएका थिए या थिएनन् भन्ने खुल्न बाँकी छ ।

दुर्घटनापछि नियमित प्रक्रिया अनुसार विषादी परीक्षण (टक्सिकोलोजी) नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

लुइजियाना टेक युनिभर्सिटीले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेको छ । विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले फेसबुकमार्फत भनेका छन्, “हामी टेकमा ‘हेरचाह’ लाई आधारभूत मूल्य मान्दछौं । आज र सधैं एकअर्काको हेरचाह गरौं ।”

विश्वविद्यालयले शोक समवेदना व्यक्त गर्दै केनी हलमा विद्यार्थीहरूका लागि काउन्सिलिङ सेवा उपलब्ध गराइएको जानकारी दिएको छ । साथै अन्तर्राष्ट्रिय विद्यार्थी समुदायलाई सहयोगका लागि अन्तर्राष्ट्रिय मामिला कार्यालयमार्फत सम्झना कार्यक्रमको तयारी भइरहेको जनाएको छ ।

https://www.facebook.com/share/p/199kwK1h5L

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ५२ बजे