सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट चार दिनदेखि सम्पर्कविहीन भनिएका हायू परिवारका १६ जना सदस्य कास्कीको गगनगौंडामा सकुशल फेला परेका छन् । उनीहरू सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भाडामा बसेको अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा परिवारका सदस्यहरू २० हजार रुपैयाँमा गाडी भाडामा लिएर पोखरा आएको खुलेको छ । उनीहरू शनिबार पोखराको लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार त्यहाँबाट निस्किएका थिए । १६ जना हराइरहेको समाचार सोमबार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनीहरूको ठेगाना पत्ता लगाएको हो ।
गगनगौंडामा हायू परिवारका सदस्यहरूले सोमनाथ र चन्द्रको घरमा डेरा गरी बसेका थिए । उनीहरूले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताएर डेरा लिएको प्रहरीले जनाएको छ । उनीहरू दुई घरको डेरामा बाँडिएर बसेको भेटिएका छन् ।
परिवारका एक जना ज्वाईं पोखराकै स्थानीय हुन् भने एक जना छोरी भने काठमाडौंमै रहेको जानकारी प्राप्त भएको छ ।
सोमबार दिनभर नै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा सम्पर्कविहीन भएको खबरले देशभर चर्चा पाएको थियो । सिन्धुलीको एकान्तमा रहेको उनीहरूको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा समेत कोही नभेटिएपछि खोजी व्यापक बनाइएको थियो ।
छिमेकीहरूले गोठमा रहेको पाडी भोकले कराइरहेको सुनेपछि मात्रै हायू परिवार बेपत्ता भएको थाहा पाएका थिए । त्यसपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष रवीन श्रेष्ठसहित घरमा पुगेर खोजतलास गर्दा कोही पनि भेटिएका थिएनन् ।









