प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका, जगातीमा ५० हजार दर्शक अट्ने विशाल फुटबल रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
बिहीबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली फुटबलप्रेमीका लागि उपयुक्त रंगशाला आवश्यक भएको भन्दै अबको केही समयमै नयाँ रंगशाला निर्माण कार्य सुरु हुने बताएका हुन् ।
“दशरथ रंगशालाको क्षमता १५ हजार मात्र हो, जुन अहिलेको मागअनुसार साँघुरो भइसकेको छ,” प्रधानमन्त्री ओलीले भने, “अब हामी भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने तयारीमा छौँ ।”
उनले दशरथ रंगशालाको स्तरोन्नति पनि गरिने जानकारी दिँदै कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरे ।
खेलकुद पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले खेल सिक्न चाहने विद्यार्थीका लागि मैदानको अभाव अब नहुने दाबी गर्दै महिला फुटबलरहरूका लागि पनि अभ्यासस्थल निर्माण भइरहेको बताए ।









