२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

सुदूरपश्चिम र कर्णालीका सम्पूर्ण हिमाल दुई वर्षका लागि नि:शुल्क



मन्त्रिपरिषद्को बैठकले आगामी दुई वर्षका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै हिमालमा आरोहण शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ । यी दुई प्रदेशमा ९७ वटा हिमाल छन्, जसमा तीनवटा सात हजार मिटरभन्दा माथिका रहेका छन् । त्यसमा साइपाल (७,०३० मि.), अपी (७,१३२ मि.) र अपी पश्चिम (७,०७६ मि.) छन् । हालसम्म यी हिमालहरूको सलामी दस्तुर विदेशीका लागि १७५ देखि ५०० अमेरिकी डलरसम्म लिने गरिन्थ्यो ।

नयाँ निर्णयअनुसार १ साउनदेखि ५,८७० मिटरदेखि ७,१३२ मिटर उचाइका यी हिमालहरू बिना शुल्क आरोहण गर्न सकिनेछ । नि:शुल्क सूचिमा परेका ७७ हिमाल कर्णाली प्रदेशमा र २० सुदूरपश्चिम प्रदेशमा छन् ।

पर्यटन विभागका अनुसार यी हिमालहरू अत्यन्तै सुन्दर भए पनि दुर्गम भूगोल र आधारभूत पूर्वाधारको अभावका कारण पर्यटक र आरोहीको संख्या न्यून छ । यो नयाँ नियमले ती हिमालहरुमा आरोहीको संख्यामा वृद्धि हुने आशा छ । यसले रोजगारी, आय र स्थानीय अर्थतन्त्रमा पनि सहयोग पुर्‍याउँनेछ ।

यी सरकारी नीतिका साथै स्थानीय समुदाय, निजी क्षेत्र र सरकारबीच समन्वय गरी यस्ता गन्तव्यको व्यापक प्रचार–प्रसार गर्न आवश्यक रहेको छ । साथै, यी क्षेत्रमा जलवायु परिवर्तनले जनजीविकामा पारिरहेको असरबारे अध्ययन अनुसन्धान हुनुपर्ने पनि विज्ञहरुको भनाई रहेको छ ।

सरकारको अपेक्षा अनुसार, हालै राष्ट्रिय सभामा दर्ता भएको पर्यटन विधेयकले सगरमाथा चढ्न चाहनेलाई नेपालभित्रकै ७,००० मिटरमाथिको हिमाल आरोहणको अनुभव अनिवार्य गर्ने प्रावधानले साइपाल, अपी र अपी पश्चिमतर्फ आरोही बढाउने सम्भावना छ । अहिले यी तीनै हिमाल नि:शुल्क छन्।

नेपालमा सगरमाथासहित ४६१ हिमाल व्यावसायिक आरोहणका लागि खुला छन् । सन् २०२४ मा मात्रै हिमाल आरोहणबाट ६७ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो, जसमा ५९ करोड २३ लाख रुपैयाँ सगरमाथाबाट आएको थियो। तर सुदूरपश्चिम र कर्णालीका हिमालबाट पछिल्ला दुई वर्षमा २१ आरोहण दलका ६८ आरोहीमार्फत मात्र १४ लाख रुपैयाँ आम्दानी भएको छ।

यसअघि पनि सरकारले २०६५ सालमा मध्यपश्चिम र सुदूरपश्चिमका केही हिमाल पाँच वर्षका लागि नि:शुल्क घोषणा गरेको थियो, जसलाई पछि २०७५/७६ सम्म लम्ब्याइएको थियो। भिजिट नेपाल २०२० का क्रममा अपी, साइपाल, गणेश हिमाल र ग्याल्जेन हिमाल नि:शुल्क गरिएको भए पनि कोभिड–१९ का कारण भ्रमण वर्ष स्थगित भएको थियो।

नेपालमा ५,५०० मिटरभन्दा माथिका ३,३१० हिमालमध्ये ४६१ हिमाल व्यावसायिक आरोहणका लागि खुला छन्, तर १०२ हिमालमा अहिलेसम्म कसैले पनि आरोहण अनुमति लिएको छैन।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  ९ : ५९ बजे