सरकारले भदौ १६ बाट लागू हुने गरी हिमाल आरोहण दस्तुर बढाएको छ । पर्यटन विभागका अनुसार गत मंसिरमा स्वीकृत पर्वतारोहण सम्बन्धी (छैटौं संशोधन) नियमावली–२०८१ अनुसार नयाँ शुल्क लागू भएको हो ।
विभागका महानिर्देशक नारायण रेग्मीले अघिल्लो सिजनमै शुल्क बढाइए पनि यो सिजन (सेप्टेम्बर) बाट मात्र कार्यान्वयनमा आएको हो । “हिमाल आरोहणको दस्तुर १० वर्षदेखि पुनरावलोकन भएको थिएन । यसलाई समसामयिक बनाउन आवश्यक थियो,” उनले भनेका छन् ।
सगरमाथा आरोहण शुल्क:
– वसन्त ऋतुमा प्रतिआरोही शुल्क ११ हजार डलरबाट बढाएर १५ हजार डलर (करिब २१ लाख १२ हजार रुपैयाँ)
– शरद ऋतुमा ७,५०० डलर
– शिशिर तथा वर्षामा ३,७५० डलर
– सगरमाथाको अन्य रुटमा वसन्तमा १० हजार, शरदमा ५ हजार र शिशिर/वर्षामा २,५०० डलर
अन्य हिमालहरूको शुल्क:
– ८ हजार मिटरभन्दा माथिका हिमाल : वसन्तमा ३,००० डलर, शरदमा १,५०० डलर, शिशिर/वर्षामा ७५० डलर
– मनास्लु : वसन्तमा १,५०० डलर, शरदमा ३,००० डलर, अन्य सिजनमा १,५०० डलर
– ७,५००–८,००० मिटरका हिमाल : वसन्तमा १,००० डलर, अन्य सिजनमा २५० डलर
– आमादब्लम : वसन्त/शरदमा १,००० डलर, अन्य सिजनमा ५०० डलर
– ६,००० मिटरभन्दा मुनिका हिमाल : वसन्त/शरदमा ३५० डलर (अन्य सिजनमा १७५ डलर)
संशोधित नियमावलीअनुसार हिमाल सफाइ, कामदारको बीमा, सम्पर्क अधिकृतको जिम्मेवारी, उद्धार बीमा र कामदारको ज्यालामा वृद्धि गरिएको छ । विभागका अनुसार यो निर्णयले हिमाल आरोहणलाई व्यवस्थित बनाउन र दिगो पर्वत पर्यटनलाई लक्ष्यित गर्न सहयोग गर्नेछ ।









