१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

अमेरिकाबाट थप ३७ जना नेपाली निष्कासनमा



अमेरिकाबाट थप ३७ जना नेपाली नागरिकलाई निष्कासन गरिने भएको छ । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस)ले उनीहरूलाई आगामी बुधबार (सेप्टेम्बर ३) चार्टर विमानमार्फत नेपाल पठाउने तयारी गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार मंगलबार दिउँसो चार्टर विमानमार्फत उनीहरूलाई काठमाडौं पठाउने जानकारी आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता हालसम्म दुई सयभन्दा बढी नेपाली यसरी नै नेपाल फिर्ता भइसकेका छन् । हालसम्म डिपोर्ट भई फर्किएका मध्ये २८ जिल्लाका नागरिक छन् । दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका सर्वाधिक नागरिक डिपोर्टमा परेका छन् ।

प्रहरीका अनुसार निष्कासनमा पर्ने अधिकांश नेपालीहरू संगठित गिरोहलाई रकम बुझाएर तल्लो रुट (अवैध बाटो) प्रयोग गरी अमेरिका प्रवेश गरेका थिए ।

ट्रम्पले २० जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि पदभार सम्हालेपछि गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। सो क्रममा नेपालसहित विभिन्न मुलुकका गरी १४ लाख ४५ हजार ५ सय ४९ जनालाई ‘डिपोर्ट’ सूचीमा समावेश गरिएको छ।

उक्त सूचीमा सबैभन्दा धेरै मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस र भेनेजुएलाका आप्रवासी परेका छन्। आइसले गत २४ नोभेम्बरसम्म डिपोर्टको अन्तिम आदेश पाइसकेकालाई धरपकड गर्दै सम्बन्धित मुलुक पठाउने अभियान तीव्र पारेको छ। पहिलो चरणमा २४ जुन २०१५ पछि प्रवेश गरेका र निष्कासन आदेश पाइसकेका कागजातविहीन आप्रवासीलाई प्राथमिकतामा राखिएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १० : ५७ बजे