१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

जेनजी आन्दोलनको बिध्वंसमा संलग्न कांग्रेस कार्यकर्तामाथि कारबाही हुने



नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न आफ्ना कार्यकर्तामाथि कारबाही गर्ने तयारी गरेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार प्रदेश तथा जिल्ला कार्यसमितिहरूलाई सर्कुलर पठाउँदै आन्दोलनका घटनामा संलग्न कार्यकर्ताको विवरण मागेका हुन् । “कांग्रेस कार्यकर्ताहरू कतै संलग्न भए भने नाम, फोटोसहितको विवरण तुरुन्त केन्द्रीय कार्यालयमा पठाउनू,” सर्कुलरमा उल्लेख छ ।

जेनजी आन्दोलनमा प्रहरी दमनका कारण भदौ २३ गते काठमाडौंमा मात्र २२ जनाको मृत्यु भएपछि आन्दोलन देशभर उग्र भएको थियो । त्यस क्रममा सिंहदरबारका मन्त्रालय, सर्वोच्च अदालत, सभापति शेरबहादुर देउवासहित नेताहरूका घरहरूमा समेत आगजनी भएको थियो । सामाजिक सञ्जालमा विभिन्न दलका नेता कार्यकर्ताहरू संलग्न देखिने भिडिओहरू पनि सार्वजनिक भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, “यदि एक जना मात्रै कांग्रेस कार्यकर्ता पनि संलग्न रहेको प्रमाणित भए तत्काल निलम्बनलगायत कारबाही हुन्छ ।” चुनावमा उम्मेदवारलाई असहयोग गर्नेहरूलाई जस्तै पार्टी अनुशासन उल्लंघन गर्नेहरूलाई कारवाही गर्न लागिएको हो ।

साथै, थापा र शर्माले प्रदेश सभाको काम प्रभावकारी बनाउन निर्देशन दिएका छन्। प्रतिनिधि सभा विघटन भए पनि प्रदेश र स्थानीय तह अझै सक्रिय रहेको भन्दै कांग्रेसले प्रदेश र जिल्ला तहमा भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताएको छ।

कांग्रेसले असोज ३ गते संविधान दिवसलाई “हात हातमा संविधान” नारासहित मनाउने तयारी गरेको छ। उपसभापति पूर्णबहादुर खड्काले भर्चुअल बैठकमार्फत ७७ जिल्ला सभापति र जनसम्पर्क समितिहरूलाई कार्यक्रमको सर्कुलर पठाइसकेको जानकारी दिए।

यसैबीच, भदौ २४ गतेको आक्रमणबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा करिब १० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक विवरण आएको छ। भवन मर्मत अघि इन्जिनियरमार्फत संरचनाको अवस्था जाँचिएको पार्टीले जनाएको छ। सभापति शेरबहादुर देउवा दम्पती समेत आक्रमणमा घाइते भएका कारण उपसभापति खड्का र दुवै महामन्त्रीले पार्टीका गतिविधि अगाडि बढाइरहेका छन्।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ९ : ४६ बजे