१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

रोल्पामा दुर्घट्नामा मर्नेको स्ख्य २० पुग्यो, १४ जना एकै परिवारका



रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये १४ जना एकै परिवारका रहेको खुलेपछि रुकुमकोटसहित आसपासका क्षेत्र शोकमग्न बनेका छन् । बिहीबार अपराह्न थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा भएको उक्त दुर्घटनामा चालकसहित २१ जना सवारमध्ये २० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जना भने जिपको छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्। उनको अवस्था सामान्य रहेको र उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार सिस्ने–५ टाकुराका ३२ वर्षीय गोर्ख बिसी, उनकी आमा ५२ वर्षीया तिलकुमारी बुढाथोकी, १० वर्षीय छोरा दिव्यन बिसी र २८ वर्षीया भाउजु युभा बिसीको दुर्घटनामा मृत्यु भएको छ। त्यस्तै, गोर्खकी कान्छी आमा ४० वर्षीया ओमकुमारी बुढाथोकी र उनका सन्तान २४ वर्षीया सृजना र १३ वर्षीय सुदीप बुढाथोकीले पनि ज्यान गुमाएका छन् ।

युभा बिसीका माइती पक्षबाट समेत ठूलो क्षति भएको छ । घोराही–१५ रतनपुरका ५४ वर्षीया द्रोपदा जिसी, उनका श्रीमान् यमबहादुर जिसी, २५ वर्षीया छोरी एलिसा जिसी, ३२ वर्षीया बुहारी तिला विष्ट जिसी र उनीहरूका बालबालिकासमेत दुर्घटनामा परेका छन्। एलिसाका ४ वर्षीय छोरा संयोग जिसी, तिलाका १२ वर्षीया छोरी जेनिसा र ७ वर्षीय छोरा जेनिस जिसीको पनि ज्यान गएको प्रहरीले जनाएको छ । साथै, आफन्त पर्ने घोराही–१३ की धनमाया विष्टको समेत मृत्यु भएको छ ।

परिवारका एक सदस्यका अनुसार युभा बिसी आफ्ना श्रीमान् दीपकलाई भेट्न अमेरिका जान लागेकी थिइन् र वैशाख २८ गतेको टिकटसमेत तय भइसकेको थियो । अमेरिका जानुअघि परिवारका सदस्यहरू सँगै भएर जलजलामा पूर्णिमाको पूजामा सहभागी हुन जिप रिजर्भ गरेर यात्रा गरेको बताइएको छ ।

दुर्घटनामा अन्य पाँच जनाले पनि ज्यान गुमाएका छन् । दाङ शान्तिनगरका सवारी चालक ४२ वर्षीय बेदु कामी, उनकी सासुआमा ६० वर्षीया मिना विक, सिस्ने–५ की ६० वर्षीया लक्ष्मी शाह, २७ वर्षीया रुक्मिना बस्नेत र भूमे गाउँपालिका–५ का टेकप्रसाद बुढा मृतकमा रहेका छन् ।

प्रहरीका अनुसार घटनास्थलबाट सबै शव निकालेर थबाङ गाउँपालिका अस्पतालमा ल्याई सनाखत गरिएको छ । ११ वटा शव रुकुम पूर्व जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि पठाइनेछ भने बाँकी ९ शव रोल्पा जिल्ला अस्पतालमा परीक्षणपछि आफन्तलाई बुझाइनेछ ।

प्रारम्भिक अनुसन्धानले जिपमा अत्यधिक यात्रु सवार रहेको देखाएको छ । जिपको वैधानिक क्षमता १२ जना भए पनि चेकपोस्टमा चालकले त्यही संख्यामा यात्रु रहेको जानकारी गराएको थियो। तर बीच बाटोमा थप यात्रु चढाइएको र प्रहरीलाई छलिएको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। दुर्घटनाको वास्तविक कारणबारे विस्तृत अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १० : ३८ बजे