१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

दुबईले नेपालीलाई भिजिट भिसा बन्द गर्‍यो



दुबईले नेपाली नागरिकलाई भिजिट (भ्रमण) भिसा दिन पूर्ण रूपमा बन्द गरेको छ । सोमबारदेखि लागू भएको यस निर्णयबारे कुनै औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।

विभिन्न ट्राभल्स एजेन्सीहरुका अनुसार युएई भिसा आवेदन दिने प्रणालीमा अब नेपालका लागि भिजिट भिसा कोलम नै हटाइएको छ । आइतबारसम्म कोलम खुला थियो । त्यस दिन दिएका सबै नेपालीको भिसा अस्वीकृत भएको र त्यसपछि कोलम बन्द गरिएको बताइएको छ ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा रोकबारे राजदूतावासलाई औपचारिक जानकारी नआएको बताए। उनले यो निर्णय अस्थायी हुन सक्ने सम्भावना व्यक्त गरे।

गत डिसेम्बरदेखि नै दुबईले नेपालीको भिसा स्वीकृति नगर्ने प्रवृत्ति देखिएको थियो। त्यसपछि धेरै नेपालीहरूले शारजाह राज्यमार्फत भिसा लिने गरेका थिए। यद्यपि, अब भने युएईकै लागि भिजिट भिसा पूर्ण रूपमा बन्द गरिएको छ ।

भिसा रोक्नुका केही कारण बताइएको छैन । यद्यपी नेपालीहरू भिजिट भिसामा गएर उतै काम खोज्ने र गैरकानुनी रूपमा बस्ने, युएईलाई ट्रान्जिट बनाएर युरोप वा अमेरिका जाने क्रममा ठगीमा पर्ने, साथै भदौ २४ गतेको आन्दोलनपछि जेलबाट कैदीबन्दी भागेकाले सुरक्षा चिन्ता बढेको थियो ।

हाल अमेरिकाको भिसा भएकाले मात्रै दुबई प्रवेश गर्न पाउने व्यवस्था रहेको अधिकारीले जानकारी दिइएको छ । वार्षिक ५० हजारभन्दा बढी नेपाली युएई भ्रमणमा जाने गरेका थिए । हाल युएईमा करिब ८ लाख नेपाली रहेको अनुमान छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ९ : ५१ बजे