जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार देशका विभिन्न स्थानमा मनसुनी वायु थप सक्रिय रहने र भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले शुक्रबार साँझको मौसमी बुलेटिन जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागमा विशेषगरी वर्षाको प्रभाव बढी हुने जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् प्रतिमा मानन्धरले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा शुक्रबार रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको बताउँदै, शनिबार र आइतबार देशका केही स्थानमा भारी वर्षा हुने र सोमबारदेखि मौसम क्रमशः सुधार हुने जानकारी दिइन् ।
शनिबार र आइतबार दिनभर देशभर साधारणतया बदली रहने, धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र कतिपय स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको समेत सम्भावना छ ।
यस्तै, सडक विभागले दशैँका समयमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै मुख्य राजमार्ग प्रयोग गर्न आग्रह गरेको छ । विभागका अनुसार मुख्य राजमार्गमा ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीको व्यवस्था हुनुका साथै मर्मतसम्भार पनि चाँडो हुने भएकाले जोखिम कम हुने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १७ देखि २० गतेसम्म रातको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले भारी वर्षाका कारण बाढी, पहिरो र भू–क्षयजस्ता विपद्का जोखिम बढ्ने भएकाले आ–आफ्नो स्थानमा सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।
त्यस्तै, ललितपुर प्रशासनले पनि जोखिम क्षेत्रका सवारी आवागमनमा प्रतिबन्ध लगाइसकेको छ भने अन्य विभिन्न जिल्लाले पनि जोखिम क्षेत्रका सडकमा यात्रा रोक्ने निर्णय गरेका छन् ।
बाढीविद् विनोद पराजुलीका अनुसार शनिबार रातिदेखि नवलपरासी, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुलीलगायत जिल्लाका स–साना नदीनालामा आकस्मिक बाढी आउन सक्ने खतरा छ । आइतबार नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, राप्ती, बागमती, कमला र तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तहमा पुग्ने सम्भावना रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणदेखि स्थानीय तहसम्मका निकायलाई उच्च सतर्कतासहित विपद् पूर्वतयारी र प्रतिकार्यमा लाग्न निर्देशन दिएको छ ।
सचिवालयले जारी गरेको विज्ञप्तिमा जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न, गर्भवती महिला, बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्ति र बिरामीलाई सुरक्षित स्थलमा लैजाने तयारी गर्न आग्रह गरिएको छ । साथै, अनावश्यक यात्रा नगर्न र आधिकारिक निकायले जारी गर्ने सूचनालाई पालना गर्न पनि सुझाव दिइएको छ ।









