३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका स्वीकृत



निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ । आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमै सञ्चालन हुने भएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पहिलो हुने निर्वाचक प्रणाली (प्रत्यक्ष) अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि स्थापना गरिनेछ। राजनीतिक दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म हुने कार्यक्रम कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै, निर्वाचन प्रचारप्रसार फागुन ३ गतेदेखि १८ गतेसम्म गर्न सकिनेछ भने फागुन १८ गतेदेखि मौन अवधि लागू हुनेछ। आयोगका अनुसार मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सम्पन्न भएपछि मतपेटिका संकलन र त्यसपछि मतगणना सुरु गरिनेछ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने र पुस १८ र १९ गते दलहरूले बन्दसूची (Closed List) पेश गर्ने कार्यक्रम तय गरिएको छ।

निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेसँगै आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी औपचारिक रूपमा प्रारम्भ भएको जनाएको छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ९ : ४१ बजे