‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले आफू सरकारसँग वार्तामा बस्न तयार रहेको पत्र आइतबार संबंधित निकायहरूलाई बुझाएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलका क्रममा प्रसाईंले गृहमन्त्रालयसँग वार्तामा बस्न तयार रहेको जानकारी गराएका हुन्।
यसअघि गृहमन्त्रालयले आन्दोलनरत प्रसाईंसहित विभिन्न समूहहरूलाई वार्तामार्फत् समाधान खोज्न आह्वान गरेको थियो। आइतबारको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रसाईंलाई आन्दोलनमा जानु आफ्नै लागि घातक हुन सक्ने चेतावनी दिँदै पुनर्विचार गर्न सुझाव दिएका थिए।
“जायज मागहरू सुनुवाइ गर्न नेपाल सरकारले वार्ताको ढोका खुला गरिसकेको छ,” पौडेलले भनेका छन्, “अहिलेको परिवेश अझै पनि जोखिमपूर्ण छ। तपाईंको ज्यान, समाजको सुरक्षा र शान्ति–अमनका लागि आन्दोलन आवश्यक छैन, नगर्नुस् भन्ने सुझाव दिएका छौँ।”
छलफलपछि प्रसाईंले पनि तत्कालका लागि कुनै पनि आन्दोलन कार्यक्रम नरहेको जानकारी दिएका छन्। “सरकारले जिम्मेवार ढंगले वार्ताका लागि आह्वान गरेको छ,” बैठकमै प्रसाईंले भनेका थिए।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार, प्रसाईंले वार्ताको इच्छा प्रकट गर्ने औपचारिक पत्र बुझाएका छन्। “उहाँले म वार्तामा बस्न चाहन्छु भन्ने आसयको पत्र दिनुभएको छ। उक्त पत्र हामीले गृहमन्त्रालयमा पठाउनेछौँ,” पौडेलले सन्चार माध्यममा भनेका छन् ।
बैठकमा अधिकारीहरूले प्रसाईंका चेतावनीपूर्ण अभिव्यक्ति र सामाजिक सञ्जालमा भएका पोस्टहरूबारे पनि चासो देखाएका थिए। तर, प्रसाईंले तत्काल आन्दोलन थाल्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।
स्रोतका अनुसार, प्रसाईंले आन्दोलनको तयारी थालेपछि तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीहरूले सुरक्षा विश्लेषण गर्दै छलफल आयोजना गरेका थिए। छलफलपछि प्रसाईंले सरकारसँग वार्ता गर्न तयार रहेको र तत्काल आन्दोलन नगर्ने निर्णय सार्वजनिक गरेका हुन्।









