काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका नुवाकोट र धादिङका स्थानीय बासिन्दाहरूले दीर्घकालीन ल्यान्डफिल साइट सदाका लागि बन्द गराउने चेतावनीसहित आन्दोलन सुरु गरेका छन् ।
चार दिनदेखि आन्दोलनमा रहेका स्थानीयले मंगलबारदेखि नै काठमाडौंबाट गएका फोहोरका कन्टेनरहरूलाई फर्काइदिएपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको छ ।
स्थानीयवासीको स्व:स्फुर्त आन्दोलनको नेतृत्व गरिरहेका नुवाकोट ककनीका श्रीराम ढुंगानाले काठमाडौं महानगरसहित काठमाडौं र भक्तपुरका स्थानीय तहहरूले फोहोर व्यवस्थापनमा चरम लापरबाही गरेको र स्थानीयका मागप्रति उदासीन रहेकोले बञ्चरेडाँडा क्षेत्रले ‘अब अति नसहने’ बताएका छन् ।
ढुंगानाले सिसडोल, बञ्चरेडाँडा र धुनीबेसीसम्मका नागरिकहरूको जीवनरक्षाको प्रश्न अहम् बनेको बताए । ‘गाउँभरि क्यान्सर रोगी छन् । स्वासप्रस्वासम्बन्धी बिरामी थपिएका थपियै छन्। ल्यान्डफिल साइट वरपरका जग्गाजमिनमा कमाइ हुन छाडिसक्यो। गाउँभरि कुकर, चिल–गिद्धको आतंक छ’ उनले भनेका छन् ।
पटक पटक संघर्ष गर्दै आएका स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निर्वाचित भएपछि आशावादी भएर नेतृत्वलाई सहयोग गरे पनि उनले पनि पुरानै नेतृत्वको शैली अपनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले बञ्चरेडाँडाको दीर्घकालीन ल्यान्डफिल साइटमा पनि फोहोरको वर्गीकरण नगरी एकै ठाउँमा व्यवस्थापन गरिएको र लिचेड प्रशोधन नगरी सीधै त्रिशूली नदीको शाखा नदी कोल्पु खोलामा मिसिएको आरोप लगाएका छन् ।
स्थानीयले बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रलाई मानवरहित बनाउने, ल्यान्डफिललाई मध्यविन्दु मानेर २५०० मिटर वरपरको क्षेत्रलाई मध्यवर्ती क्षेत्र (बफर जोन) घोषणा गरी अधिग्रहण गर्ने र मानव बस्ती हटाउने, त्यहाँको जग्गा जमिनलाई उचित मुआब्जा दिएर अधिग्रहण गर्ने, फोहोरको वर्गीकरणसहित वैज्ञानिक व्यवस्थापन र प्रशोधन केन्द्र स्थापना गर्ने, कोल्पु खोलालाई जीवनदान दिनेलगायतका माग राखेका छन् ।
फोहोर व्यवस्थापन हुन नसकेपछि काठमाडौं महानगरले सूचना जारी गर्दै घरभित्रै फोहोर राख्न र सडकमा नल्याउन आग्रह गरेको छ । यस विषयमा शुक्रबार साँझ सहरी विकास मन्त्रालयमा भएको छलफलमा भने कुनै निष्कर्ष निस्किएको छैन । धादिङका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक सेवामा अवरोध नगर्न र वार्तामा बस्न स्थानीयलाई आग्रह गरेका छन् । यसपटक नुवाकोट र धादिङका स्थानीय राजनीतिक दलहरूले समेत आन्दोलनप्रति नैतिक समर्थन जनाएका छन् ।
श्रीराम ढुंगानाले भने, ‘हामीलाई थाहा छ, हाम्रो यसपटकको संघर्ष अलि लामै जानेवाला छ। सरकारले बल प्रयोगको नीति लिनसक्छ। तर, हामी फोहोर रोकी छाड्छौं।’









