२१ कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025

रवि र छविको मुद्दामा फाइल झिकाउन आदेश



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामीछाने र पूर्व डीआईजी छविराज जोशीसँग सम्बन्धित मुद्दामा उच्च अदालत बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फाइल झिकाउन आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले जिल्लाको आदेश र फाइल मिसिल झिकाउन निर्देशन दिएको हो ।

फाइल अध्ययनपछि रास्वपा सभापति रवि लामिछानेले आफूमाथि हुनसक्ने बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त हुन पाउन माग गरेको निवेदनमाथि सुनुवाइ हुने अदालतले जनाएको छ ।

आजको सुनुवाइमा जोशीतर्फका अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा इजलासले मिसिल अपुग भएको भन्दै थप मिसिल माग गरेको र त्यसपछि मात्रै अर्को पेसी तोकिने बताएका छन् ।

इजलासले सो निर्णय गरेपछि लामिछाने पक्षका कानुन व्यवसायीले आज बहस गर्न पाएका छैनन् । मुद्दाको अर्को पेसी तोकिएको छैन ।

लामिछाने र जोशी दुवै जना सहकारी ठगीको आभियोगमा थुनामा रहेका छन् । जिल्ला अदालत रुपन्देहीले जोशीलाई थुनामा पठाउने आदेश दिँदा लामिछानेसँग एक करोड धरौटी माग गरेको थियो ।

जोशीले धरौटीमा रिहा गर्न उच्च अदालतमा पुनरावेदन गरेका थिए भने लामिछानेले धरौटी रकम बढी भएको दाबी गर्दै उच्च अदालत पुगेका थिए । तर उच्च अदालतले जोशीलाई थुनामा राख्ने आदेश सदर गर्दै लामिछानेलाई समेत पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो ।

त्यो आदेश सर्वोच्च अदालतले पनि सदर गरेपछि लामिछाने अहिले कारागारमै रहेका छन् । यसअघि उनले बिगोबापतको धरौटी राखेर रिहा हुन जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए, तर अदालतले अस्वीकार गरेको थियो । त्यसपछि उनले उच्च अदालतमा मुद्दा लगेका हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, बिहिबार  ९ : १८ बजे