१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मध्यपूर्वी तनावको असर– नेपालका १८ उडान रद्द, करिब ३ हजार यात्रु प्रभावित



मध्यपूर्व क्षेत्रमा उत्पन्न तनावका कारण शनिबार नेपालका १८ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण ले अमेरिका–इसराइल र इरानबीच बढेको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय हवाइ क्षेत्र प्रभावित हुँदा त्यसको असर नेपालका उडानहरूमा समेत परेको जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार शनिबार मात्रै १८ उडान प्रभावित हुँदा करिब ३ हजार यात्रु मारमा परेका छन् । उडान रद्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिड लागेको थियो। धेरै यात्रु घन्टौं विमानस्थलमा कुरेर पुनः घर फर्किएका थिए ।

नेपाल एयरलाइन्स का काठमाडौंबाट दमाम, दोहा र दुबई जाने तीन उडान रद्द हुँदा करिब ५०० यात्रु प्रभावित भएका छन् ।

कतार एयरवेज्का का चार उडान रद्द हुँदा करिब ८०० यात्रु प्रभावित भएका थिए भने फ्लाइदुवाइका चार उडान रद्द हुँदा करिब ६०० यात्रु प्रभावित भएका छन् ।

त्यसैगरी एयर अरेवियका शारजाह जाने दुई उडानबाट करिब ३०० यात्रु प्रभावित भएका छन् । हिमालयन एयरलाइन्सका दमाम जाने तीन उडानबाट करिब ५०० यात्रु र कुवेत जाने दुई उडानबाट करिब ३०० यात्रु प्रभावित भएका छन् ।

विश्वकै व्यस्तमध्ये एक मानिने दुवाई इन्टरनेशनल एयरपोर्ट समेत अस्थायी रूपमा बन्द भएको जनाइएको छ । इरानले ड्रोन आक्रमण गरेपछि विमानस्थलमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी तथा साउदी अरबका दमाम र रियाद विमानस्थल बन्द रहेकाले अझै उडान प्रभावित हुन सक्ने सम्भावना छ ।

यद्यपि टर्किस एयरलाइन्सले आफ्नो उडान उत्तरतर्फबाट रि–रुट गरी नियमित सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : ३९ बजे