प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार मंगलबार साँझसम्म तीन–चार वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ भने अधिकांश क्षेत्रको परिणाम आइसकेको छ ।
मंगलबार साँझ पौने ८ बजेसम्म १ करोड ५ लाख ८६ हजार ४५४ मत गणना भएको छ । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख ७१ हजार २७४ मत पाएको छ । त्यस्तै नेपाली कांग्रेसले १७ लाख २२ हजार १२४, नेकपा (एमाले) ले १४ लाख ३२ हजार ६ सय, नेकपाले ७ लाख ८५ हजार ४६०, श्रम संस्कृति पार्टीले ३ लाख ७० हजार ४९१ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २७ हजार ३५८ मत प्राप्त गरेका छन् ।
मतगणनाको गति यही अनुपातमा जारी रहेमा मंगलबार मध्यराति वा बुधबार बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने आयोगको अनुमान छ । अन्तिम परिणाम बुधबार बिहान नभए दिउँसोसम्म सार्वजनिक हुने प्रवक्ता जीसीले बताए ।
‘आज बिहानसम्म १२–१३ निर्वाचन क्षेत्रको मतगणना प्रक्रियामा थियो। ती बाहेक अधिकांश निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ,’ उनले भने, ‘अब तीन–चार वटा निर्वाचन क्षेत्रको मतगणना मात्रै बाँकी छ। आज मध्यराति वा भोलि बिहानसम्म सबै परिणाम आउने जानकारी आएको छ।’
उनका अनुसार केही स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्छ।
आयोगका अनुसार हालसम्म औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको छ । ‘केही जिल्लामा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिन्छ। अघिल्लो निर्वाचनको तथ्यांक हेर्दा सरदर ५ प्रतिशतसम्म बदर हुने सम्भावना पनि रहन्छ,’ जीसीले बताए।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि आयोगले राजनीतिक दललाई सिट बाँडफाँट प्रक्रियाका लागि औपचारिक पत्राचार गर्नेछ। त्यसपछि दलहरूले समानुपातिक सांसदको सूची पठाउनेछन्।
यसैबीच प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भइसकेको छ। परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जित्दै पहिलो दल बनेको छ।
त्यस्तै नेपाली कांग्रेसले १८, नेकपा (एमाले) ले ९ र नेकपाले ८ सिट जितेका छन्। श्रम संस्कृति पार्टीले ३ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ। एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।
समानुपातिकतर्फको मतगणनामा समेत रास्वपाले फराकिलो मतान्तरसहित अग्रता कायम राखेको आयोगले जनाएको छ।









