कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिशा विकको रहस्यमय मृत्युको घटनाले पछिल्ला दिनहरूमा सार्वजनिक बहस तातेको छ ।
वीरेन्द्रनगर–१ मा बस्दै आएकी गुर्भाकोट नगरपालिका–६ बडाखोलीकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनको सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गर्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ, जो सबै १८ वर्षमुनिका नाबालक रहेको प्रहरीले जनाएको छ ।
परिवारका अनुसार फागुन २३ गते बिहान करिब ६ बजे इनिशा ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन् । उनकी आमा तिला विकले त्यो दिन शनिबार भएकाले नजान आग्रह गरेकी थिइन्, किनकि परिवार गुर्भाकोट जाने योजना बनाइरहेको थियो। तर इनिशाले दुई घण्टामै फर्कने भन्दै घरबाट निस्किएकी थिइन्।
इनिशा वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन् । बिहान ८ बजेसम्म घर फर्कने भनिएकी छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गर्दा मोबाइल बन्द रहेको परिवारले जनाएको छ ।
केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै कसैले ‘तपाईंकी छोरी शहीद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्, छिटो आउनुस्’ भनेर खबर गरेको थियो ।
सूचना पाएपछि आमा तिला विक घटनास्थल पुगेकी थिइन् । उनका अनुसार छोरीको अवस्था अत्यन्तै दयनीय थियो । शरीर रक्ताम्मे अवस्थामा थियो, कपाल लुछिएको र शरीरमा नीलडाम देखिएको थियो । एकातिर जुत्ता र अर्कोतिर मोजा फेला परेको थियो भने शरीरमा कपडा थिएन, कालो ज्याकेटले छोपिएको अवस्थामा भेटिएको थियो ।
‘प्रहरीले ज्याकेट हटाएर अनुहार देखाएपछि मात्रै मैले छोरीलाई चिनेँ । छातीभरि नीलडाम थियो । त्यो अवस्था देखेपछि म त्यहीँ बेहोस भएँ,’ आमा तिलाले भक्कानिँदै बताएकी छन् ।
इनिशाका बुवा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि रोजगारीका लागि दुबईमा कार्यरत छन् । उनी एक महिना अघि मात्रै छुट्टी बिताएर काममा फर्किएका थिए । छोराछोरीको पढाइका लागि आमा तिला विगत पाँच वर्षदेखि वीरेन्द्रनगरमै बस्दै आएकी थिइन् ।
इनिशा पढाइमा अब्बल विद्यार्थी थिइन् र विज्ञान विषय लिएर अध्ययन गरिरहेकी थिइन् । उनको सपना डाक्टर बन्ने थियो। परिवारका अनुसार छोरीको मृत्युको खबर पाएपछि बुवा इन्द्रबहादुर तत्काल नेपाल फर्किन खोजिरहेका छन् । तर मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण दुबई विमानस्थल बन्द हुँदा उनी त्यहीँ अलपत्र परेको परिवारले जनाएको छ ।
छोरीको मृत्युको खबरपछि आमा तिलाको स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको परिवारजनले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनाबारे सबै कोणबाट अनुसन्धान भइरहेको छ । प्रहरीले फागुन २३ गते नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका एक किशोरले प्रारम्भिक बयानमा इनिशासँग शारीरिक सम्पर्क भएको र अत्यधिक रक्तश्राव भएपछि उनी अचेत भएको दाबी गरेका छन् । तर परिवारले भने सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी उजुरी दिएको छ ।
घटनास्थलको अवस्था, शरीरमा देखिएका चोटपटक तथा अन्य संकेतले सामूहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने परिवारको दाबी छ । पोस्टमार्टम रिपोर्ट अझै सार्वजनिक नभएकाले अनुसन्धान निष्कर्षमा पुग्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, थप परीक्षणका लागि भेरी अस्पताल नेपालगन्जबाट तीन जना विशेषज्ञ चिकित्सकको टोली सुर्खेत बोलाइएको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि जिल्लाका विभिन्न अधिकारवादी संघसंस्थाहरूले पनि गम्भीर चासो व्यक्त गरेका छन् । उनीहरूले यस घटनालाई अत्यन्तै दुःखद, अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
यता सामाजिक सञ्जालमा पनि किशोरीको मृत्युबारे तीव्र प्रतिक्रिया देखिएको छ । धेरैले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गर्दै न्यायका लागि आवाज उठाइरहेका छन् ।
प्रहरीले भने घटनाको गम्भीरता बुझेर अनुसन्धान अघि बढाइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि थप तथ्य बाहिर आउने जनाएको छ ।









