२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

समानुपातिक मत परिणाम: रास्वपा पाए ५१ लाख भन्दा बढी मत, अरुले कति पाए



प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मतगणना पनि सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको परिणाम मंगलबार नै सार्वजनिक भइसकेको थियो भने अब समानुपातिक प्रणालीतर्फका ११० सिटका लागि भएको मतगणना पनि टुंगिएको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकतर्फ कुल एक करोड १२ लाख ८० हजार ८९८ मत खसेको थियो। त्यसमध्ये एक करोड ८ लाख ३० हजार ८१५ मत सदर भएको छ भने ४ लाख ५० हजार ८३ मत बदर भएको आयोगले जनाएको छ। यसरी हेर्दा करिब चार प्रतिशत मत बदर भएको देखिन्छ।

रास्वपा सबैभन्दा ठूलो दल

समानुपातिकतर्फ सदर भएका मतमध्ये सबैभन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको छ। रास्वपाले ५१ लाख ८१ हजार ३३० मत पाएको छ, जुन कुल सदर मतको ४७.८ प्रतिशत हो।

त्यसपछि दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३ मत प्राप्त गरेको छ। यो सदर मतको १६.२ प्रतिशत हो।

तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले १४ लाख ५५ हजार ६६९ मत अर्थात् १३.४ प्रतिशत मत पाएको छ। चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ११ हजार ३९३ मत अर्थात् ७.५ प्रतिशत मत प्राप्त गरेको छ।

पाँचौं स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ मत अर्थात् ३.६ प्रतिशत मत पाएको छ भने छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ३० हजार ६४९ मत अर्थात् ३.१ प्रतिशत मत प्राप्त गरेको छ।

थ्रेसहोल्ड पार गर्न सकेनन् अन्य दल

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीमा सिट प्राप्त गर्नका लागि सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। यसपटक रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाबाहेक अन्य कुनै दलले तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्न सकेनन्।

अब सिट बाँडफाँड प्रक्रिया

समानुपातिक मतगणना सकिएसँगै निर्वाचन आयोगले अब सिट बाँडफाँडको प्रक्रिया अघि बढाएको छ। आयोगले प्राप्त मतको आधारमा दलहरूले पाउने सिट निर्धारण गर्नेछ। त्यसपछि सम्बन्धित दलहरूलाई समानुपातिक सूचीबाट सांसदको नाम सिफारिस गर्न पत्राचार गरिने आयोगले जनाएको छ।

दलहरूले सूची पठाएपछि आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्यहरूको औपचारिक घोषणा गर्नेछ।

अन्य दलले पाएको मत

समानुपातिकतर्फ थ्रेसहोल्ड पार गर्न नसकेका अन्य दलहरूले पनि विभिन्न मात्रामा मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी, नेपालले १ लाख ८१ हजार ८५० मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४९० मत पाएको छ।

त्यसैगरी जनमत पार्टीले ७९ हजार ४०३ मत प्राप्त गरेको छ भने राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल समूहले ६२ हजार ६९ मत पाएको छ। नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४ मत प्राप्त गरेको छ भने राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७ मत पाएको छ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३ मत प्राप्त गर्दा नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी समूहले २९ हजार ३९६ मत पाएका छन्। नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८ मत पाएको छ भने प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३ मत प्राप्त गरेको छ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २३ हजार ८५८ मत, मंगोल नेशनल अर्गनाइजेशनले २० हजार ८२९ मत, आम जनता पार्टी/जनादेश पार्टी नेपालले १९ हजार २०९ मत, सार्वभौम नागरिक पार्टीले १४ हजार ८८१ मत र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ७२२ मत प्राप्त गरेका छन्।

अन्य साना दलहरूले भने यसभन्दा कम मत प्राप्त गरेका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीमा सिट वितरण भने थ्रेसहोल्ड पार गरेका दलहरूबीच मात्रै हुने व्यवस्था रहेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १० : २२ बजे