२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई थप आर्थिक भार, ग्राजुएट भिसा शुल्कमा शतप्रतिशत वृद्धि



अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि प्रदान गरिने ‘टेम्पोररी ग्राजुएट भिसा’ (सबक्लास–४८५) को आवेदन शुल्कमा शतप्रतिशत वृद्धि गरेको छ ।

यसले त्यहाँ अध्ययनरत हजारौँ नेपाली विद्यार्थीहरू ठूलो आर्थिक संकटमा पर्ने देखिएका छन् । फागुन १७ (मार्च १) देखि लागू भएको यो नयाँ व्यवस्था अनुसार संघीय सरकार र गृह मन्त्रालयले आवेदन शुल्क २ हजार ३०० अष्ट्रेलियन डलरबाट बढाएर ४ हजार ६०० डलर पुर्‍याएको छ, जुन नेपाली रुपैयाँमा करिब ४ लाख ८ हजार हुन आउँछ । सन् २०१९ मा केवल १ हजार ५३५ डलर रहेको यो शुल्कमा भएको अस्वाभाविक वृद्धिले पढाइ सकेर कार्यअनुभव बटुल्न चाहने विद्यार्थीहरूको भविष्यको योजनालाई नै प्रभावित बनाइदिएको छ ।

यो नीतिगत परिवर्तनमा अष्ट्रेलियाले पहिलो पटक ‘टियर्ड प्राइसिङ’ अर्थात् देश हेरेर फरक शुल्क निर्धारण गर्ने प्रणाली भित्र्याएको छ, जसलाई धेरैले विभेदकारी कदमका रूपमा हेरेका छन् ।

नयाँ नियम अनुसार पूर्वी टिमोर र प्रशान्त टापुका राष्ट्रहरू जस्तै फिजी, पपुवा न्युगिनी र सामोआका नागरिकले भने पुरानै शुल्क २ हजार ३०० डलरमा भिसा पाउने सुविधा उपभोग गर्न पाउनेछन् । अष्ट्रेलियाली गृह मन्त्रालयका प्रवक्ताले एबीसी न्यूजसँग कुरा गर्दै यस कदमलाई प्रशान्त क्षेत्रका राष्ट्रहरूसँगको कूटनीतिक र रणनीतिक सम्बन्ध बलियो बनाउने योजनाको हिस्सा भएको दाबी गरेका छन् ।

कोरोना महामारीपछि अष्ट्रेलियामा ह्वात्तै बढेको आप्रवासीहरूको सङ्ख्या नियन्त्रण गर्ने संघीय सरकारको रणनीतिका कारण यो आर्थिक भार थपिएको विश्लेषण गरिएको छ । विगतमा आफ्नो भिसा प्रणालीलाई ‘विश्वव्यापी’ र ‘गैर-भेदभावपूर्ण’ दाबी गर्दै आएको अष्ट्रेलियाले अब पासपोर्टका आधारमा विद्यार्थीहरूलाई फरक व्यवहार गर्न थालेको छ ।
अष्ट्रेलियामा उच्च शिक्षाका लागि जाने विदेशी विद्यार्थीहरूको सङ्ख्यामा तेस्रो स्थान ओगटेका नेपालीहरूले अब ग्राजुएट भिसाका लागि मात्रै साविकको भन्दा अतिरिक्त २ लाख ५ हजार नेपाली रुपैयाँभन्दा बढी जोहो गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ९ : ११ बजे