१० असार २०८३, बुधबार | Thu Jun 25 2026

कांग्रेसभित्र विवाद चर्कियो, इतरपक्षका नेताहरुद्वारा सदस्यता नविकरण नगर्न आग्रह



नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई लिएर सभापति गगन थापा र संस्थापन इतर समूहबीच विवाद चर्किएको छ ।

नेता पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शेखर कोइरालालगायत नेताहरूले क्रियाशील सदस्यता अद्यावधिक नगर्न नेता–कार्यकर्तालाई आग्रह गरिरहेका बेला सभापति थापाले महाधिवेशनमा सहभागी हुन अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्ने स्पष्ट पारेका छन् ।

थापाका अनुसार अद्यावधिक अभियानको उद्देश्य पार्टी सदस्यको विवरण प्रविधिमैत्री बनाउनु र सदस्यहरूले आफू कांग्रेसमा निरन्तर रहन चाहेको सुनिश्चित गर्नु हो । उनले हाल ८–९ लाख क्रियाशील सदस्य रहे पनि करिब ८० हजार सदस्यको मात्र मोबाइल नम्बर र विस्तृत विवरण पार्टीसँग रहेको बताएका छन् ।

संस्थापन इतर समूहले भने विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिले अद्यावधिकको माध्यमबाट सदस्यता संरचना एकलौटी बनाउन खोजेको आशंका व्यक्त गरेको छ । उनीहरूको दाबी अनुसार गत पुससम्म नै करिब ६ लाख सदस्यको नवीकरण र ३ लाख नयाँ सदस्यता वितरण भइसकेकाले पुनः अद्यावधिक आवश्यक छैन ।

सभापति थापाले पार्टी एकताका लागि तीन प्रस्ताव अघि सारेका छन् । उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई वरिष्ठ नेताको जिम्मेवारी दिने, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा स्थान दिने तथा निर्वाचन, अनुशासन र सदस्यता व्यवस्थापन समितिमा सबै पक्षको सहभागिता गराउने प्रस्ताव गरेका छन् ।

यसैअनुसार उनले पूर्वसभापति शेरबहादुर देउवा, शेखर कोइराला र शशांक कोइरालानिकट १९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । यद्यपि, पूर्णबहादुर खड्का र शेखर कोइरालाले परामर्शबिना गरिएको मनोनयनप्रति असन्तुष्टि जनाएका छन् ।

संस्थापन इतर पक्षले पार्टीभित्र ६०–४० को अनुपातमा प्रतिनिधित्वसहित प्याकेजमै सहमति हुनुपर्ने अडान राखेको छ । सहमति नजुटेसम्म समानान्तर प्रदेश भेला, भ्रातृ संस्थाको पुनर्गठन र देशव्यापी जागरण अभियान सञ्चालन गर्ने तयारी पनि गरिएको छ ।

पार्टी विभाजनको चर्चा चलिरहेका बेला पूर्णबहादुर खड्का र शेखर कोइराला दुवैले पार्टी फुटाउन नहुने पक्षमा रहेको बताएका छन् । तर विशेष महाधिवेशन भएको पाँच महिना बितिसक्दा पनि राजनीतिक सहमति नजुटेकाले कांग्रेसभित्रको विवाद अझै समाधान हुन सकेको छैन ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  १० : ०४ बजे