राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले पार्टीबाट अलग हुने संकेत दिएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसँग लामो समयदेखि चल्दै आएको मतभेद उत्कर्षमा पुगेपछि राणाले नयाँ राजनीतिक बाटो तय गर्ने घोषणा गरेका हुन् ।
आइतबार एक अपिल जारी गर्दै महामन्त्री राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित आगामी राजनीतिक यात्रा तय गर्ने निर्णय गरेको बताएका छन् । उनले शुभेच्छुक, सहयोद्धा र सहयात्रीहरूको सुझाव तथा परामर्शका आधारमा नयाँ दिशा तय गर्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन् ।
राणा र अध्यक्ष लिङ्देनबीच विगत केही वर्षदेखि पार्टी सञ्चालन शैली, संगठन व्यवस्थापन तथा नेतृत्वको कार्यशैलीलाई लिएर मतभेद रहँदै आएको थियो । राणाले पटक–पटक पार्टी नेतृत्वलाई कार्यशैली सुधार गर्न आग्रह गरे पनि आफ्ना सुझाव र चिन्ताहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै आएका थिए ।
पछिल्लो समय उनले पार्टीको महाधिवेशनको मिति तत्काल घोषणा गर्न नेतृत्वलाई दबाब दिएका थिए । यसका लागि एक साताको समयसीमासमेत दिएका थिए । तर अध्यक्ष लिङ्देनले कार्यसम्पादन समिति बैठकमार्फत राणासहितका नेताहरूलाई महाधिवेशनको मिति प्रस्ताव गर्ने जिम्मेवारी दिएका थिए। त्यसपछि भने राणा महाधिवेशनको तयारीमा सक्रिय नभई वैकल्पिक राजनीतिक अभियानतर्फ उन्मुख भएका थिए ।
राणाले जारी गरेको अपिलमा राप्रपामा रहेका नेता तथा कार्यकर्तालाई आफूले रोजेको बाटो सही लागेमा साथ दिन आह्वान गरेका छन् । साथै पार्टीमै रहने निर्णय गर्नेहरूलाई शुभकामना व्यक्त गर्दै आफूमा कुनै बैरभाव नरहेको बताएका छन् । देशलाई स्पष्ट लक्ष्य र विश्वसनीय राष्ट्रवादी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले समान सोच भएका शक्तिहरूलाई एकजुट हुन आग्रह गरेका छन् ।
राणाको यो घोषणासँगै राप्रपाभित्र विभाजनको सम्भावना बलियो बनेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ । उनीनिकट नेताहरूका अनुसार राणाले आफ्नो पक्षका नेता तथा कार्यकर्तासँग निरन्तर छलफल गरिरहेका छन् र नयाँ राजनीतिक शक्ति निर्माणको तयारी भइरहेको छ ।
राप्रपाभित्र पछिल्ला वर्षहरूमा नेतृत्व र संगठन सञ्चालनलाई लिएर असन्तुष्टि बढ्दै गएको थियो । राणानिकट पक्षले अध्यक्ष लिङ्देनले आफूहरूसँग निकट रहेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीविहीन बनाएको आरोप लगाउँदै आएको थियो । प्रतिनिधिसभा निर्वाचनपछि राणा पक्षका केही केन्द्रीय सदस्यहरूले पार्टीबाट राजीनामा समेत दिएका थिए ।
राणानिकट एक नेताका अनुसार करिब ६० जना केन्द्रीय सदस्यको समर्थन जुटाएर नयाँ राजनीतिक दल गठन गर्ने तयारी भइरहेको छ । यसका साथै विभिन्न राष्ट्रवादी अभियान र राजनीतिक समूहसँग समेत सहकार्यको सम्भावना खोजिएको बताइएको छ ।
राणाको कदमले राप्रपाको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको छ । यदि उनीसँगै उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ता बाहिरिए भने राप्रपा औपचारिक विभाजनतर्फ उन्मुख हुन सक्ने आकलन गरिएको छ। यद्यपि पार्टी नेतृत्वले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।









