२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

परराष्ट्र मन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाँदै



शिशिर खनाल आगामी जेठ २२ गते शुक्रबार तीनदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् ।

भारतिय समकक्षी एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल हुनेछ । विशेषगरी व्यापार, लगानी, ऊर्जा सहयोग, सीमा पार सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित भएर छलफल हुने अपेक्षा गरिएको छ ।

यो भ्रमणलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । विशेषगरी रवि लामिछाने को हालै सम्पन्न भारत भ्रमणलगत्तै हुन लागेको खनालको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।

यसअघि मन्त्री खनाल गत महिना भारतमा आयोजना हुने बाघ संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जाने तयारीमा थिए । उक्त अवसरमा भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ताको कार्यक्रमसमेत तय भएको थियो । तर सम्मेलन अन्तिम समयमा स्थगित भएपछि भ्रमण हुन सकेको थिएन ।

खनाल र जयशंकरबीच यसअघि मौरिससमा भएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा भेटवार्ता भइसकेको छ । त्यस भेटमा पनि दुई देशबीचको सहयोग र साझेदारीका विविध विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ९ : ११ बजे