२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

कांग्रेस सभापति सम्पत्ति छानबिन आयोगलाई सघाउने



कांग्रेस सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण बुझाएर पूर्ण सहयोग गर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति थापाले आफू मात्र नभई पार्टीका अन्य नेता तथा पदाधिकारीहरूले पनि सम्पत्ति विवरण बुझाउने स्पष्ट पारे । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले संविधान र कानूनअनुसार गर्ने प्रयासमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताए ।

उनले सार्वजनिक पद धारण गरेका नेता तथा पदाधिकारीहरूको सम्पत्तिसम्बन्धी विषय छिटो टुंगिनु नेपाली कांग्रेसको चाहना रहेको उल्लेख गर्दै सम्पत्ति छानबिन प्रक्रिया निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिए ।

थापाले केही न्यायाधीश तथा राजनीतिक नेताहरूले सम्पत्ति विवरण नबुझाउने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै त्यस विषयमा कांग्रेसको कुनै टिप्पणी नरहेको बताए । तर कांग्रेसका तर्फबाट भने सबै सम्बन्धित व्यक्तिहरूले सम्पत्ति विवरण बुझाउने उनको भनाइ थियो ।

“म पनि र अन्य सबै साथीहरूले पनि आफ्नो सम्पत्ति विवरण बुझाउँछौँ। हामी यो प्रक्रिया टुंगिनुपर्छ भन्ने ठान्छौँ,” उनले भनेका छन् ।

यद्यपि आयोग गठनको प्रक्रिया र सरकारले दिएको कार्यादेशको विषयमा भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै उनले सरकारलाई सचेत गराए । आयोगको निष्पक्षता र स्वच्छतामाथि कुनै शंका उत्पन्न नहुने गरी काम गर्न आवश्यक रहेको उनको धारणा थियो ।

भ्रष्टाचार र दण्डहीनता नियन्त्रण गर्ने उद्देश्यसहित बालेन्द्र साह नेतृत्वको सरकारले गत वैशाख २ गते राजेन्द्रकुमार भण्डारी को अध्यक्षतामा पाँच सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेको थियो । आयोगलाई सार्वजनिक पदमा रहेका तथा पूर्वपदाधिकारीहरूको सम्पत्तिको स्रोत र वैधानिकताको अध्ययन तथा छानबिन गर्ने जिम्मेवारी दिइएको छ ।

सभापति थापाको अभिव्यक्तिलाई आयोगको कामप्रति समर्थन र त्यसको विश्वसनीयता कायम राख्नुपर्ने चेतावनी दुवैका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ९ : १९ बजे