६ असार २०८३, शनिबार | Sat Jun 20 2026

रास्वपाले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका, सभापतिका उम्मेदवारलाई ५१ हजार रुपैयाँ शुल्क



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ कार्यतालिकासँगै विभिन्न पदका उम्मेदवारका लागि आवश्यक शुल्क, प्रस्तावक तथा समर्थकसम्बन्धी व्यवस्था पनि सार्वजनिक गरेको हो।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार सभापति पदमा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सभापतिका उम्मेदवारका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ।

त्यस्तै, पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ। पदाधिकारी बन्न चाहने उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थकको समर्थन जुटाउनुपर्नेछ।

केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ। केन्द्रीय सदस्यमा उम्मेदवारी दिने व्यक्तिले पनि एक जना प्रस्तावक र २१ जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। उम्मेदवारहरूले प्रस्तावक तथा समर्थकको हस्ताक्षरसहितको विवरण उम्मेदवारी दर्ताका क्रममा बुझाउनुपर्नेछ।

निर्वाचन कार्यतालिकाअनुसार शनिबार राति महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। प्रतिनिधिको नामावलीमाथि दाबी–विरोधको प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गरिने जनाइएको छ।

आयोगले असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारी फाराम वितरण गर्ने र सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेको छ।

यस्तै, असार ९ गते रास्वपाको केन्द्रीय समितिका लागि मतदान हुनेछ। बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा केन्द्रीय सभापति र केन्द्रीय सदस्य पदका लागि पहिलो चरणमा मतदान गरिनेछ।

पदाधिकारी पदका लागि भने दोस्रो चरणमा मतदान हुने आयोगले जनाएको छ। पदाधिकारी निर्वाचनको विस्तृत कार्यतालिका पछि सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त केसीले जानकारी दिएका छन्।

महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व चयनको सरगर्मी बढेको छ। रास्वपाले पहिलो पटक महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको अवस्थामा उम्मेदवारी शुल्क, समर्थक संख्या र निर्वाचन कार्यतालिकालाई लिएर पार्टी वृत्तमा व्यापक चासो देखिएको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ९ : ५६ बजे