१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

१८ वर्षमुनिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि संसदमा कांग्रेसको प्रश्न



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा संसदमा गम्भीर प्रश्न उठाएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको सदस्यता लिनेहरूको सूची हेर्दा १८ वर्षमुनिका ३५ हजार ३ सय ५७ जना सदस्य रहेको पाइएको भन्दै औपचारिक रूपमा नै घोषणा गरिएको यो सवालमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

उनले यो तथ्यांकले आफूहरूलाई निकै गम्भीर र आश्चर्यचकित बनाएको उल्लेख गर्दै बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नमिल्ने तर्फ संसद्को ध्यानाकर्षण गराइन् ।

नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन । सांसद काउँचाले कानूनको बर्खिलाप हुने यस्तो कार्य गरेमा ८० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैदको कानूनी व्यवस्था रहेको स्मरण गराउँदै के रास्वपालाई यो व्यवस्था लागू नहुने हो भनी प्रश्न गरिन् ।

उनले रास्वपा संविधानभन्दा माथि छ कि भन्दै आक्रोश समेत व्यक्त गरिन्। विद्यार्थीले राजनीति गर्न हुँदैन भनेर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सहितका विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गरेको सरकारले आफ्नो दलमा भने बालबालिकालाई सदस्य बनाएको भन्दै उनले कलिला विद्यार्थीलाई आफ्नो पार्टीको झोला बोकाउन मिल्छ कि मिल्दैन भनी सरकार र सत्तारूढ दलसँग जवाफ माग गरेकी छन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  १० : ०९ बजे