काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनको तयारीलाई तीव्र बनाएको भए पनि क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणसम्बन्धी विवादले महाधिवेशनको तयारी चुनौतीपूर्ण बनेको छ। महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसके पनि सदस्यता व्यवस्थापनमा देखिएको ढिलाइ र संस्थापन तथा संस्थापनइतर समूहबीचको असहमतिले संगठनभित्रको आन्तरिक तनाव अझै कायम रहेको देखिएको छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिबाट १६ देखि १९ असोजसम्म १५औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गर्दै त्यसअनुसारको कार्यतालिका पारित गरेको थियो। सोही कार्यतालिकाअनुसार वैशाख मसान्तभित्र क्रियाशील सदस्यता अद्यावधिक सम्पन्न गर्ने लक्ष्य राखिए पनि विवादका कारण काम निर्धारित समयमा पूरा हुन सकेन।
संस्थापनइतर समूहको असन्तुष्टिपछि सदस्यता अद्यावधिकको अवधि २८ जेठसम्म लम्ब्याइएको थियो। त्यसपछि पनि छुटेका सदस्यहरूलाई स्वयं सदस्यता अद्यावधिक गर्न २० असारसम्मको अतिरिक्त समय दिइएको छ। नवीकरण नभएका सदस्यहरूको अद्यावधिक तथा नवीकरणको समयसीमा पनि सोही मितिसम्म कायम गरिएको छ।
महाधिवेशन कार्यतालिकाअनुसार १५ असारभित्र सदस्यता व्यवस्थापन समितिले सबै विवाद टुंग्याएर अन्तिम सूची केन्द्रीय कार्यसमितिलाई बुझाउने र असार मसान्तभित्र निर्वाचन समितिलाई अद्यावधिक सदस्यहरूको नामावली हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ। तर सदस्यता वितरण र अद्यावधिक प्रक्रिया अझै जारी रहेकाले निर्धारित समयमै सबै काम सम्पन्न हुनेमा आशंका व्यक्त भइरहेको छ।
यद्यपि, क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सदस्य तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले भने केन्द्रीय निर्वाचन समितिलाई नामावली तोकिएकै समयभित्र बुझाइने र केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रभावित नहुने दाबी गरेका छन्। उनका अनुसार वडादेखि प्रदेश तहसम्मका केही अधिवेशन दुई–चार दिन तलमाथि हुन सक्ने भए पनि केन्द्रीय महाधिवेशन भने निर्धारित मितिमै सम्पन्न हुनेछ।
कांग्रेसको कार्यतालिकाअनुसार २ भदौमा वडा अधिवेशन, ७ भदौमा गाउँ तथा नगर अधिवेशन, १७ भदौमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, २४ भदौमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, २–३ असोजमा जिल्ला अधिवेशन, ७–८ असोजमा प्रदेश अधिवेशन र अन्ततः १६–१९ असोजमा केन्द्रीय महाधिवेशन हुनेछ।
यसबीच संस्थापन पक्षले महाधिवेशनको मिति नसर्ने दाबी गरिरहे पनि संस्थापनइतर समूहका शीर्ष नेताहरूले भने अझै सदस्यता अद्यावधिक गरेका छैनन्। पार्टी नेतृत्वले सदस्यता अद्यावधिक नगर्ने व्यक्तिहरू महाधिवेशन प्रक्रियामा सहभागी हुन नसक्ने स्पष्ट संकेत दिएको छ।
सभापति गगन थापाले हालै झापामा आयोजित कार्यक्रममा सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा मान्यता नदिने बताएका थिए। उनले अद्यावधिक नगरेका सदस्यहरूको नाम मतदाता सूचीमा नआउने भएकाले उनीहरूले मतदान गर्न नपाउने स्पष्ट पारेका थिए।
यसैबीच कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै देशभर नयाँ क्रियाशील सदस्यता वितरण अभियान पनि सञ्चालन गरिरहेको छ। ७७ जिल्लामा प्रतिनिधि परिचालन गरेर प्रत्येक वडाबाट कम्तीमा ३५ वर्षमुनिका १० जना युवालाई क्रियाशील सदस्य बनाउने लक्ष्य पार्टीले लिएको छ। पार्टीले यस अभियानमार्फत करिब तीन लाख नयाँ क्रियाशील सदस्य थप्ने लक्ष्य राखेको छ।
महामन्त्री प्रदीप पौडेलका अनुसार हालसम्म पाँच लाख ३८ हजार ६२२ पुराना सदस्यले सदस्यता अद्यावधिक गरिसकेका छन् भने एक लाख ४९ हजारभन्दा बढी सदस्यको अद्यावधिक प्रक्रिया जारी छ।
यद्यपि, पूर्वसभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखकलगायतका वरिष्ठ नेताहरूले समेत अझै सदस्यता अद्यावधिक नगरेकाले पार्टीभित्रको असन्तुष्टि अझै समाधान हुन बाँकी रहेको संकेत मिलेको छ।
क्रियाशील सदस्यता नै महाधिवेशनमा प्रतिनिधि चयन र मतदानको आधार भएकाले अद्यावधिकबाट छुट्ने सदस्यहरूले मतदान अधिकार गुमाउने सम्भावना छ। त्यसैले सदस्यता व्यवस्थापनको विवाद समाधान गर्दै महाधिवेशनलाई सहमतिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्नु कांग्रेस नेतृत्वका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ।









