काठमाडौंमा राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएकै दिन सर्लाहीमा पनि अर्का एक जनाले आत्मदाहको प्रयास गरेका छन्।
सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटीयाका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार अपराह्न करिब पौने ४ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।
घटनालगत्तै स्थानीयवासीले उनको उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याएका थिए। तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको सशस्त्र प्रहरी बलका डीएसपी एकराज बुर्लाकोटीले जानकारी दिए।
स्थानीयका अनुसार मण्डलले एमएस्सीसम्म अध्ययन गरेका छन्। उनले केही समय मलंगवास्थित एक कलेजमा अध्यापन गरेका थिए। तर एक वर्षअघि जागिर गुमाएपछि उनी बेरोजगार बनेका थिए।
त्यसयता रोजगारी नपाएपछि उनी आर्थिक समस्यामा परेका थिए। आर्थिक अभावका कारण केही समययता मानसिक तनावमा रहेको गोडैता–१० का वडाध्यक्ष वैद्यनाथ मण्डलले बताएका छन्।
एकै दिन देशका दुई फरक स्थानमा भएका यी आत्मदाहसम्बन्धी घटनाले बेरोजगारी, आर्थिक संकट र मानसिक स्वास्थ्यका चुनौतीप्रति पुनः गम्भीर बहस सुरु गराएको छ।
यदि तपाईं वा तपाईंले चिन्ने कोही व्यक्तिले निराशा, आत्महत्या वा आत्मदाहजस्ता विचारसँग संघर्ष गरिरहनुभएको छ भने, विश्वासिलो परिवारका सदस्य, साथी वा मानसिक स्वास्थ्यकर्मीसँग तत्काल कुरा गर्नु महत्त्वपूर्ण हुन्छ। समयमै सहयोग पाउँदा यस्तो संकटबाट बाहिर निस्कन सकिन्छ।









