काठमाडौं । नेपाली कांग्रेस सातै प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको छ। पार्टीभित्र एमालेसँगको गठबन्धन तोडेर नयाँ राजनीतिक विकल्प खोज्ने गृहकार्य तीव्र बनाइएको स्रोतले जनाएको छ।
कांग्रेस नेतृत्वले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको एक नेताले बताए। उनका अनुसार यसका मुख्य दुई कारण गत वर्ष भएको जेन–जी आन्दोलनप्रति दुवै दलको फरक दृष्टिकोण र प्रदेश सरकारहरूमा एमालेको कार्यशैलीप्रति कांग्रेसको बढ्दो असन्तुष्टि हुन्।
स्रोतका अनुसार कांग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग हुने राजनीतिक समझदारीका आधारमा प्रदेश सरकारबारे नयाँ रणनीति तय गरिनेछ।
कांग्रेस र नेकपाबीच सहमति बनेमा दुवै दल मिलेर प्रदेश सरकार गठन वा पुनर्गठनमा अघि बढ्ने सम्भावना रहेको बताइएको छ। सहमति हुन नसके केन्द्रमा जस्तै प्रदेशमा पनि विपक्षमा बस्ने रणनीति कांग्रेसले बनाएको स्रोतको दाबी छ।
यसै विषयमा मंगलबार कांग्रेस सभापति गगन थापा र नेकपाका अध्यक्ष दाहालबीच छलफल भएको स्रोतले जनाएको छ। छलफलमा केन्द्रमा सम्भावित नयाँ सत्ता समीकरण, प्रदेश सरकारहरूको भविष्य तथा सत्ता साझेदारीका विभिन्न विकल्पबारे कुराकानी भएको बताइएको छ।
यद्यपि, कांग्रेसले एमालेसँगको सत्ता सहकार्य औपचारिक रूपमा अन्त्य गर्ने वा नयाँ गठबन्धन बनाउने विषयमा अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन। दुवै दलका शीर्ष नेताबीच भने यस विषयमा निरन्तर संवाद भइरहेको स्रोतको भनाइ छ।
यसबीच कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको “उकुसमुकुसपूर्ण सहकार्य” बाट पार्टी मुक्त हुन चाहेको अभिव्यक्ति दिएका छन्। उनका भनाइलाई पनि कांग्रेसभित्र गठबन्धन पुनरावलोकनको संकेतका रूपमा हेरिएको छ









