सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका कारण मधेसका विभिन्न जिल्लामा स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञालाई निरन्तरता दिएको छ। पछिल्लो एक सातादेखि सुनसरी, सिरहा, धनुषा र सप्तरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी रहेको छ भने पर्साको वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा रातिको समयमा निषेधाज्ञा लागू गरिएको छ।
सुनसरीमा १२ साउन रातिदेखि जिल्लाका सबै १० स्थानीय तहमा अर्को सूचना जारी नभएसम्म अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ। त्यस्तै सिरहाको गोलबजारमा १४ साउन दिउँसो २ बजेदेखि तथा लहानमा सोही दिन अपराह्न ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी छ।
धनुषामा जनकपुर उपमहानगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनिया गाउँपालिकामा बुधबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।
सप्तरीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। बोदे बरसाइन नगरपालिकासहित हुलाकी राजमार्ग आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ। बोदे बरसाइन क्षेत्रमा बिहीबार राति १० बजेदेखि र खाँडो खोला–जमुनी थलही तथा रुपनी रोड आसपासका क्षेत्रमा शुक्रबार बिहान ८ बजेदेखि अर्को सूचना नभएसम्म कर्फ्यु कायम रहने प्रशासनले जनाएको छ।
यता पर्साको वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा भने कर्फ्यु नभई रातिको समयमा निषेधाज्ञा जारी गरिएको छ। प्रतिमा चोक–बसपार्क बाइपास रोडदेखि तिलावे पुल, गण्डक चोक हुँदै शंकराचार्य गेटसम्मको क्षेत्रमा बिहीबार साँझदेखि लागू गरिएको निषेधाज्ञालाई शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि पनि निरन्तरता दिइएको छ। प्रशासनले सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य नभएकाले निषेधाज्ञा लम्ब्याइएको जनाएको छ।
साउन १० गते सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा बिहीबार निधन भएको थियो।
घटनामा सशस्त्र प्रहरीको गोलीबाट १० जना घाइते भएका थिए। उनीहरूमध्ये आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। साथै सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
सुनसरी घटनाको विरोधमा बिहीबार सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा पनि प्रहरीले गोली चलाएको थियो। गोली लागेर तुलसीपुरका २० वर्षीय गणेश यादवको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
लगातार बढ्दो तनावका बीच स्थानीय प्रशासनले प्रभावित जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ बनाएको छ। सर्वसाधारणलाई कर्फ्यु तथा निषेधाज्ञाको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न प्रशासनले आग्रह गरेको छ।










