१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

प्रधानमन्त्री बालेनको राष्ट्रका नाममा सम्बोधन, शान्ति–सद्भाव कायम राख्न सबैलाई अपिल



सुनसरीको देवानगन्ज, सिरहालगायत क्षेत्रमा भएको हिंसात्मक घटनापछि पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाबारे प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले परिस्थितिलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताएका छन् । बिहीबार फेसबुकमार्फत सार्वजनिक भिडियो सम्बोधनमा उनले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नागरिकलाई संयमित हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शाहले सुनसरी घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सम्बोधनमा उनले घटनालगत्तै सुरक्षा निकाय परिचालन गरी शान्ति–सुरक्षा कायम गर्ने प्रयास भइरहेको र घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको उल्लेख गरेका छन्। दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास दिलाएका छन्।

प्रधानमन्त्री शाहले थप अप्रिय घटना हुन नदिन केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय बैठक, जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका नेतृत्वसँग निरन्तर संवाद भइरहेको जानकारी दिएका छन्। स्थानीय अवस्थाको प्रत्यक्ष अनुगमन तथा पीडितसँग भेटघाट गर्न गृहमन्त्री सुरक्षा निकायका उच्च अधिकारीसहित घटनास्थलतर्फ गएको र राष्ट्रिय सुरक्षा परिषद्को बैठकले समेत आवश्यक निर्णय गरिसकेको उनले बताए।

सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह, अपुष्ट सूचना, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्दै प्रधानमन्त्रीले सरकारी निकायबाट जारी आधिकारिक सूचनामात्र विश्वास गर्न सबैलाई अपिल गरेका छन्।

उनले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र शान्ति कायम गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै शान्ति भंग गर्ने, अराजकता फैलाउने तथा धार्मिक वा सामुदायिक सद्भाव खल्बल्याउने गतिविधिविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री शाहले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सरकारले त्यसको पूर्ण संरक्षण गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। धर्मले प्रेम, करुणा, दया र शान्तिको सन्देश दिने भएकाले कुनै एक स्थानमा भएको दुःखद घटनाको आधारमा सम्पूर्ण समुदायलाई दोषारोपण गर्नु वा अन्यत्र प्रतिशोधको भावना फैलाउनु कुनै पनि हिसाबले स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले नेपालको इतिहासले कठिन परिस्थितिमा पनि एकता, सहिष्णुता र विवेकबाट संकट पार गरेको स्मरण गराउँदै आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल तथा सञ्चारमाध्यमलाई धैर्यता र जिम्मेवारीका साथ शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न हार्दिक अपिल गरेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  १० : २९ बजे