१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

ब्रोड पिक हिमपहिरोमा परेका सबै १० आरोहीको निधन



काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेका ६ नेपालीसहित सबै १० आरोहीको निधन भएको छ ।

बिहीबार ब्रोड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी ६ नेपालीसहित १० आरोही हराएका थिए । उनीहरू सबैको निधन भएको पुष्टि भएको जनाइएको छ ।

हिमपहिरोमा हराएका १० आरोहीमध्ये चार जनाको शव शुक्रबार भेटिएको थियो । भेटिएका शवमध्ये तीन जनाको शुक्रबार नै पहिचान खुलेको थियो । अन्य आरोहीको पनि निधन भएको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री वालेन्द्र शाहले दिवङ्गत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।’

ब्रोड पिकमा ज्यान गुमाउने नेपाली आरोहीमा विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन् ।

त्यस्तै, आरोहण दलमा चार विदेशी आरोही पनि थिए । उनीहरूमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए । नाधिरा र म्यालोरी गाइसको शव शुक्रबार नै भेटिएको थियो ।

काराकोरम पर्वतशृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो । कठिन र जोखिमपूर्ण आरोहणका लागि परिचित ब्रोड पिकमा भएको यस दुर्घटनाले विश्व पर्वतारोहण समुदायलाई स्तब्ध बनाएको छ ।

आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति पनि हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, तर कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ ।

निर्मल पुर्जासहित ब्रोड पिकमा ज्यान गुमाएका ६ नेपाली तथा चार विदेशी आरोहीको भौतिक यात्रा रोकिए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास भने जीवित रहनेछ । उनीहरूले पर्वतारोहण क्षेत्रमा छोडेको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ८ : ४४ बजे