काठमाडौं । सुनसरीको देवानगन्जस्थित कप्तानगन्जबाट सुरु भएको धार्मिक तनाव एक सातापछि क्रमशः साम्यतर्फ गएको छ । आइतबारदेखि सुरु भएको तनाव बिहीबारसम्म मधेसका विभिन्न जिल्लासम्म विस्तार भए पनि शनिबार सुनसरीसहित मधेसका अधिकांश जिल्लाको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
लगातार पाँच दिनसम्मको कर्फ्यू, प्रदर्शन र तनावका कारण प्रभावित बनेको कप्तानगन्ज गाउँ शनिबार बिहानैदेखि शान्त रहेको स्थानीय रामनारायण मेहताले जानकारी दिए । यद्यपि, गाउँ पुरानै लयमा कहिले फर्किन्छ भन्ने टुंगो नहुँदा स्थानीयमा अझै चिन्ता र अनिश्चितता कायम छ ।
‘शुक्रबार र शनिबारको तनावरहित स्थितिले गाउँको अवस्था तुलनात्मक रूपमा शान्त बनेको छ,’ मेहताले भने, ‘आर्मी र प्रहरीको ओहोरदोहोर कायमै छ । हामी निर्धक्क हिँड्ने अवस्था अझै छैन । गाउँमा दुई समुदायबीच संवाद भएकै छैन । त्यसैले अनिश्चय धेरै छ ।’
कप्तानगन्जमा भएको घटनामा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै, देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।
घटनामा घाइते भएका आठ जनामध्ये छ जनाको विराटनगर र दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
कप्तानगन्जबाट सुरु भएको तनाव सप्तकोशी नदी पार गर्दै मधेसका विभिन्न जिल्लासम्म फैलिए पनि शनिबारसम्म त्यहाँको अवस्था नियन्त्रणउन्मुख रहेको मधेस प्रहरी कार्यालयले जनाएको छ । स्थानीय प्रशासनले पनि केही स्थानमा कर्फ्यू खुकुलो बनाएको छ ।
शान्ति तथा सद्भाव कायम गर्न विभिन्न जिल्लामा सर्वदलीय बैठक, सद्भाव र्याली तथा स्थानीयस्तरका पहलहरू तीव्र पारिएको मधेस प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
तनावकै क्रममा बिहीबार सिरहाको गोलबजारमा भएको घटनामा १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको थियो । गृहमन्त्री सुधन गुरुङसँग मृतक गणेशका आफन्तबीच सहमति भएपछि परिवारले उनको शव बुझेका छन् । शव धरानबाट सिरहाको औरहीतर्फ लगिएको छ ।
एसएसपी ढकालका अनुसार शनिबार मधेसका अधिकांश जिल्लाको अवस्था सामान्य रह्यो । सप्तरी, धनुषालगायत जिल्लामा सर्वदलीय बैठक तथा सद्भाव र्याली सम्पन्न भएका छन् । पर्सामा सडकमा टायर बाल्ने प्रयास गर्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर साँझ परिवारको जिम्मा लगाएको उनले बताए ।
ढकालका अनुसार सिरहाको गोलबजार क्षेत्रबाहेक अन्य स्थानको कर्फ्यू हटाइएको छ । धनुषामा भने निषेधाज्ञा कायमै छ ।
तनावका कारण प्रभावित यातायात सेवा पनि क्रमशः सामान्य बन्दै गएको छ । लामो दूरीका बस सञ्चालन पुनः सुरु भइसकेका छन् भने मुख्य राजमार्गहरू पनि सञ्चालनमा आएका छन् ।
यद्यपि, प्रभावित क्षेत्रमा सुरक्षा उपस्थिति कायमै राखिएको छ । स्थानीयस्तरमा दुई समुदायबीच संवाद र विश्वासको वातावरण निर्माण गर्न नसकेसम्म अवस्था पूर्ण रूपमा सामान्य भएको मान्न नसकिने स्थानीयको भनाइ छ ।









