४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026

तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव छानबिनमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वप्रधानमन्त्रीसँग निकट रहेर स्वकीय सचिवको जिम्मेवारी सम्हालेका व्यक्तिहरूको सम्पत्ति अनुसन्धान अघि बढाएको छ। आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गंगा दाहाल र पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि छानबिन गरिरहेको हो।

अख्तियारसम्बद्ध स्रोतका अनुसार देउवाका स्वकीय सचिव रहेका भानु देउवाको सम्पत्तिको विस्तृत अनुसन्धान सुरु भइसकेको छ। आयोगले अनुसन्धान अधिकृत तोकेर उनको परिवारका नाममा रहेको सम्पत्तिको विवरण संकलन गरिरहेको छ।

अनुसन्धानका क्रममा भानु देउवाको बैंक खाता, जग्गा तथा शेयरलगायत सम्पत्तिको विवरण मगाउने काम भइरहेको स्रोतले जनाएको छ। आयोगले विस्तृत अनुसन्धानका लागि आवश्यक सम्पत्ति विवरणसमेत भराइसकेको बताइएको छ।

त्यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो कार्यकालमा स्वकीय सचिव रहेकी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यको परिवारको सम्पत्तिमाथि पनि अख्तियारले अनुसन्धान अघि बढाएको छ। आचार्य कोशी प्रदेशसभाका सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुन्।

अख्तियारसम्बद्ध स्रोतका अनुसार परिवारका सदस्यको सम्पत्ति अनुसन्धान गर्ने क्रममा गंगा दाहालसँगै उनका पति आचार्यसमेत अनुसन्धानको दायरामा आएका हुन्। उनीहरूको अनुसन्धान भानु देउवाको तुलनामा केही अगाडि बढेको र केही सम्पत्तिको स्रोत खुलाउन थप विवरण माग्ने काम भइरहेको स्रोतको दाबी छ।

यसअघि नै अख्तियारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्ति अनुसन्धान सुरु गरिसकेको छ। बज्राचार्यलाई आयोगले टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरणसमेत भराइसकेको बताइएको छ।

यसरी पछिल्ला दिनमा अख्तियारले तीन पूर्वप्रधानमन्त्रीसँग निकट रहेर स्वकीय सचिवको जिम्मेवारी सम्हालेका व्यक्तिहरूको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो।

गंगा दाहालको आपत्ति : कानुनी छानबिनका लागि तयार छौँ

आफ्नो परिवारमाथि सम्पत्ति अनुसन्धान अघि बढेको विषय सार्वजनिक भइरहेका बेला गंगा दाहालले भने आफू र आफ्नो परिवार कानुनी छानबिनका लागि सधैं तयार रहेको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले संविधान र कानुनबमोजिम राज्यका जुनसुकै निकायले गर्ने छानबिनमा सहयोग गर्ने बताएकी हुन्। तर, आफू र आफ्नो परिवारविरुद्ध बारम्बार अफवाह फैलाइएको भन्दै उनले त्यसप्रति सरकारको ध्यानाकर्षणसमेत गराएकी छन्।

दाहालले आफ्नो परिवारबाट कुनै आर्थिक गलत गतिविधि वा पदको दुरुपयोग नभएको दाबी गरेकी छन्। आफूहरूले यसअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको उल्लेख गर्दै उनले अनुसन्धानबाट गलत काम पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको बताएकी छन्।

उनले राजनीतिक प्रतिशोधका आधारमा आफू र परिवारमाथि आरोप लगाइएको भन्दै त्यस्ता आरोप अस्वीकार्य रहेको बताएकी छन्।

‘सरकारले गर्ने जुनसुकै अनुसन्धानका लागि हाम्रो सहयोग रहनेछ, गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौं,’ दाहालको भनाइ छ, ‘तर बिनाकारण र बिना गल्तीको आरोप स्वीकार्य छैन।’

दाहालले आफूले बाबु पुष्पकमल दाहाललाई छोरीको नाताले सहयोग गर्नु नै अपराध नभएको दाबी गर्दै आफू र आफ्नो परिवारमाथि लागेका आरोप अस्वीकार गरेकी छन्।

अख्तियारको अनुसन्धान अहिले प्रारम्भिक चरणमा रहेकाले अनुसन्धानबाट के निष्कर्ष निस्कन्छ भन्ने स्पष्ट हुन बाँकी छ। सम्पत्तिको स्रोत नखुलेको वा कानुनविपरीत आर्जन भएको पुष्टि भएमा मात्रै त्यसअनुसार थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहिबार  १० : ४० बजे