२० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026

भोटेकोशीको बाढीबाट प्रभावितलाई १.५० अर्व सहयोग गर्ने एनभिडियाका सिइओ जेन्सेन ह्वाङ



काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको विनाशकारी बाढीपछि संकटमा परेको नेपाललाई विश्वभरबाट सहयोग जुट्ने क्रममा एउटा असाधारण सहयोगको घोषणा भएको छ। विश्वकै सर्वाधिक मूल्यवान् प्रविधि कम्पनी ‘एनभिडिया’का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड नेपाली रुपैयाँ) योगदान गरेका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले यो ठूलो सहयोगका लागि ह्वाङ र एनभिडिया कर्पोरेसनलाई सार्वजनिक रूपमा धन्यवाद व्यक्त गरेका छन्। फाइनान्सियल टाइम्सका अनुसार ह्वाङले स्थापना गरेको एनभिडियाको बजार मूल्य अहिले करिब ५.५ ट्रिलियन डलर छ। करिब २०० अर्ब डलर निजी सम्पत्ति भएका ह्वाङ आज संसारकै सबैभन्दा शक्तिशाली र प्रभावशाली व्यक्तिमध्ये मानिन्छन्। तर, आजको यो विशाल सफलताको पछाडि पाँच दशकअघिको एउटा ९ वर्षको आप्रवासी बालकको कठिन संघर्ष र जीवन दर्शन लुकेको छ।

थाइल्यान्डको अशान्तिदेखि अमेरिकाको संघर्षसम्म

सन् १९६३ मा ताइवानमा जन्मेका ह्वाङ बाल्यकालमा बुबाको कामको सिलसिलामा थाइल्यान्ड पुगेका थिए। त्यहाँ राजनीतिक अस्थिरता बढेपछि उनका आमाबुबाले ९ वर्षका जेन्सेन र उनका १० वर्षका दाजुलाई अमेरिका पठाउने साहस गरे। चिनियाँ मूलका यी बालकले अमेरिकाको केन्टकीस्थित ‘वनाइडा ब्याप्टिस्ट इन्स्टिच्युट’मा पढ्दै गर्दा रङ, भाषा र संस्कृतिका कारण पूर्वाग्रह सामना गर्नुपर्‍यो। त्यहाँ उनले छात्रावास र शौचालय सफा गर्ने कामसमेत गरे।

केही वर्षपछि आमाबुबा पनि सबै सम्पत्ति बेचेर अमेरिका आए। परिवारको आर्थिक अवस्था कठिन थियो, तर पढाइमा कुनै कमी हुन दिइएन। १६ वर्षको उमेरमा ओरेगन स्टेट युनिभर्सिटीमा इलेक्ट्रिकल इन्जिनियरिङ भर्ना भएका ह्वाङले त्यहीँ आफ्नी जीवनसंगिनी लोरी मिल्सलाई भेटे। पछि एएमडीमा काम गर्दै उनले स्ट्यानफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तर पूरा गरे।

भाँडा माझ्ने रेस्टुरेन्टबाट सुरु भएको एनभिडियाको यात्रा

सन् १९९३ मा ह्वाङ र उनका दुई साथीले क्यालिफोर्नियाको ‘डेनिज रेस्टुरेन्ट’मा बसेर एनभिडिया स्थापनाको योजना बनाएका थिए। विशेष संयोग त के छ भने, युवावस्थामा ह्वाङले त्यही रेस्टुरेन्टमा भाँडा माझ्ने, टेबल पुछ्ने र वेटरको काम गरेका थिए।

“मेरो लागि कुनै काम सानो छैन, मैले भाँडा माझेको छु र शौचालय सफा गरेको छु,” ह्वाङ भन्ने गर्छन्। उनी आफ्नो कडा र स्पष्ट व्यवस्थापन शैलीका लागि चिनिन्छन्। कम्पनी धेरै पटक डुब्ने अवस्थामा पुगे पनि उनले हार मानेनन्। आज पनि कम्पनी असफल होला कि भन्ने डरले आफूलाई रातदिन (साताको साताैँ दिन) खट्न प्रेरित गर्ने उनी बताउँछन्।

दुःख र कृतज्ञताको दर्शन

हार्डवर्क र संघर्षबाट माथि उठेका ह्वाङ सफलताभन्दा कठिनाइ र दुःखले मानिसको चरित्र निर्माण गर्ने विश्वास राख्छन्। उनले आफ्ना पत्नी लोरीसँग मिलेर स्ट्यानफोर्ड युनिभर्सिटीलाई ३ करोड डलर र ओरेगन स्टेट युनिभर्सिटीलाई ५ करोड डलर सहयोग गरिसकेका छन्।

नेपालका लागि प्राप्त डेढ अर्ब रुपैयाँको यो सहयोग केवल ठूलो धनराशि मात्र होइन, संघर्ष र परोपकारको एउटा प्रेरक कथा पनि हो। भोटेकोशी र त्रिशूलीको बाढीले जनधनको ठूलो क्षति पुर्‍याएको यस कठिन घडीमा प्राप्त यो सहयोगले उद्धार र पुनःस्थापनामा ठूलो राहत पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १० : २४ बजे