भोटेकोसी र त्रिशूली नदी आसपासका बाढी प्रभावित इलाकामा सुरक्षा निकायहरूले तीव्र पारिएको खोज तथा उद्धारका क्रममा लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको शव फेला पारेका छन्। नेपाली सेनाका २५ र दुई जना गैरसैनिकसहितको संयुक्त उद्धार टोलीले टनेलभित्र प्रवेश गरी शुक्रबार साँझसम्म ती शवहरू फेला पारेको हो। प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ७ र गैरसैनिक ६ वटा हवाई साधनमार्फत आज साँझसम्म ५८ जनाको सकुशल उद्धार गरिएको छ।
यसैगरी, त्रिशूली-३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनालाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र विज्ञसहितको टोलीले जीवितै उद्धार गरेको छ। उनीहरूलाई हेलिकप्टरमार्फत वीरेन्द्र अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ भने सोही स्थानबाट एक जनाको शवसमेत निकालिएको छ। त्रिशूली-३बी आयोजना स्थलमा करिब १५ फिटको खाडल खनेर खोजी गरिए पनि हालसम्म केही फेला पर्न सकेको छैन। यद्यपि, ३ए सँग पहुँच जोड्न एक्साभेटरको प्रयोग गरी करिब ७०० मिटर बाटो सफा गरिएको छ।
अन्य आयोजनाहरूमा पनि उद्धार र खोजी कार्यलाई निरन्तरता दिइएको छ। चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र मड पम्पको सहायताले लेदो फाल्दै पुनः १०० मिटर भित्रसम्म पहुँच बनाएको छ। माथिल्लो त्रिशुली-१ को हाकुस्थित टनेलमा र्याफ्ट र बोटको प्रयोग गरी पानी फाल्ने र खोजी गर्ने काम जारी छ। उता तादी नदीमा यातायात सहज बनाउन नेपाली सेनाको इन्जिनियरिङ्ग टोलीले एक्रो ब्रिज जडानका लागि वेश निर्माण गरिरहेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रहरूमा ९ हजार ३ सय भन्दा बढी सैनिक फौज प्रत्यक्ष रूपमा खटिएका छन्। उद्धार टोलीले घाइतेहरूको उपचार, शव व्यवस्थापन र अवरुद्ध सडक खुलाउनेसँगै जङ्गल तथा बस्तीहरूमा डाक्टर अधिकृतसहितको टोली पठाएर पैदल गस्तीमार्फत आपत्कालीन स्वास्थ्य सेवा र सुरक्षाको प्रत्याभूति गराइरहेको छ।








