२५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026

सरकारी अस्पतालले भर्ना नलिँदा फुटपाथमै शिशु जन्माउन बाध्य



गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा सिरहा/सप्तरी क्षेत्रकी एक विपन्न महिलाले अस्पताल अगाडिको फुटपाथमै बच्चा जन्माउनुपरेको कारुणिक घटना सार्वजनिक भएको छ । राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएकै कारण अस्पताल प्रशासनबाट लखेटिएपछि सडक पेटीमा शिशु (छोरा) लाई जन्म दिएकी हुन् ।

बुधबार राति साढे २ बजेतिर सुत्केरी व्यथाले च्यापेपछि बबिता श्रीमान् र आफन्तसहित रिक्सामा सरकारी अस्पताल पुगेकी थिइन्। तर, त्यहाँ खटिएकी स्टाफ नर्सले भर्ना लिनुअघि अल्ट्रासाउन्ड र प्रयोगशाला परीक्षणबापत २ हजार ५ सय रुपैयाँ माग गरेकी थिइन्। आफूसँग पैसा नभएको र बिहान भएपछि जाँच गराउने भन्दै भर्ना गरिदिन आग्रह गर्दा पनि स्वास्थ्यकर्मीले लखेटेको पीडित बबिताको आरोप छ। अस्पतालबाट निकालिएपछि नजिकैको औषधि पसल अगाडि पुगेकी बबिताले तीव्र प्रसव पीडाबीच फुटपाथमै बच्चा जन्माएकी हुन्।

बच्चा जन्मिएपछि सालनालसहित पुनः अस्पताल पुग्दासमेत स्वास्थ्यकर्मीले धक्का दिएर निकालिदिने धम्की दिएपछि बाध्य भएर घर फर्कनुपरेको पीडित परिवारले जनाएको छ। फुटपाथमा महिला छट्पटाइरहेको र शिशु जन्मिएको भिडियो सार्वजनिक भएपछि सरकारी अस्पताल र स्वास्थ्य प्रणालीको चौतर्फी आलोचना भइरहेको छ।

यता अस्पतालका फ्रि हेल्थ सर्भिस फोकल पर्सन मनोज देवले भने बिरामीलाई परीक्षणका लागि ल्याब पठाइएको र उनीहरू आफैँ बाहिरिएर बिहान बच्चा जन्मिएपछि मात्र अस्पताल आएको दाबी गरेका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले घटनाबारे छानबिन गर्न समिति गठन गर्ने बताएका छन्। सरकारी तथा निजी अस्पतालहरूमा विपन्नका लागि अनिवार्य शय्या र निःशुल्क सेवाको कानुनी व्यवस्था भए पनि प्रत्यक्ष रूपमा लागू नहुँदा स्वास्थ्य क्षेत्रको गैरजिम्मेवारीपन प्रस्टै उदाङ्गो भएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहिबार  ११ : ०४ बजे