९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

आईबीको अनुसन्धान घेरामा एन्फा, कोषाध्यक्ष र लेखा अधिकृत हिरासतमा



काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेको नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) माथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गम्भीर अनुसन्धान अगाडि बढाएको छ।

राष्ट्रिय खेलकुद परिषद्को पत्रका आधारमा गत शुक्रबार (असोज २ गते) एन्फा कार्यालयबाटै पक्राउ परेका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डे एक सातादेखि सीआईबीको हिरासतमा छन्। ललितपुर अदालतले उनीहरूलाई दोस्रो पटक पनि चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्। सीआईबीले एन्फा कार्यालयबाट दुई वटा ल्यापटप, चार वटा कम्प्युटरका सीपीयू र अन्य आवश्यक कागजातहरूसमेत नियन्त्रणमा लिएको छ।

उनीहरूमाथि फिफा विश्वकपको टिकटमा अनियमितता गरेको, सन् २०२४ मा बहराइनसँग घरेलु मैदानमा हुनुपर्ने खेल बहराइनमै गराएर प्राप्त हुनुपर्ने २० हजार अमेरिकी डलर एन्फाको खातामा नल्याई आफैँ बुझेको, सोही खेलमा म्याच फिक्सिङ (मिलेमतो) गरेको र खेलकुद सामग्री खरिद गर्दा बोलपत्र आह्वान नगरी केल्मी कम्पनीबाट मिलेमतोमा सामान किनेकोलगायतका चार वटा गम्भीर कसुरमा उजुरी परेको छ।

अनुसन्धानका क्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसमेत सीआईबीको अनुसन्धान घेराभित्र परेका छन्। सीआईबीका अधिकारीहरूका अनुसार एन्फाको नेतृत्व तहको निर्णयबिना यस्ता विषय सम्भव नहुने भएकाले उनीहरू अनुसन्धानको दायरामा छन्। गत असोज १ गते फुटबलका गतिविधि पुनः सुरु गर्ने घोषणा गरेलगत्तै अध्यक्ष नेम्बाङ र महासचिव राई दुवै जना अहिले सम्पर्कबाहिर रहेका छन्।

हिरासतमा रहेका अधिकारीहरूले भने बयानका क्रममा आफ्ना माथि लागेका आरोपहरू अस्वीकार गरेका छन्। उनीहरूले नियमसंगत काम गरेको दाबी गर्दै बहराइनको खेलबापतको २० हजार डलर लिन बाँकी नै रहेको, नेपालमा मैदान तयार नभएकाले बाहिर खेलाइएको र विश्वकपको टिकटमा कुनै अनियमितता नभएको बयान दिएका छन्। यद्यपि, सीआईबीले भने टिकटको प्रकृति, मैदान तयार नहुनुको कारण र अन्य आर्थिक कारोबारबारे प्राविधिक एवं प्रमाणमा आधारित भएर सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।

असार १० गते तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले एन्फामाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो, जसका कारण नेपाली राष्ट्रिय टोली र क्लबहरू अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बञ्चित बनेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १० : ४४ बजे