स्टेफनी याङ र सिल्भी झाङ
विगत चार महिनाअघिको भेटपछि पहिलोपटक राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी शि चिनफिङबीच सकारात्मक कुराकानी भएको छ । एक दशकभन्दा बढी समयपछि पहिलोपटक अमेरिकी राजधानी वासिङ्टन पुगेका चिनियाँ नेता शिलाई ट्रम्पले न्यानो आतिथ्य प्रदान गरे ।
दुवै नेताहरू व्यापार युद्ध विरामलाई अघि बढाउन, उपहार तथा शुभकामना आदानप्रदान गर्न र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विकासका जोखिम रोक्न सहकार्यको सम्भावना खोज्न सहमत भएका छन् । विश्वका दुई ठूला आर्थिक तथा भू-राजनीतिक शक्तिहरूबीच बढ्दो तनाव कम गर्ने उद्देश्यले आयोजना गरिएको यो ऐतिहासिक शिखर वार्ता अपेक्षाकृत रूपमा शान्त र नाटकीय घटनाविना नै सम्पन्न भयो । तर, शिको आफ्नै महत्त्वाकाङ्क्षाका लागि भने यत्तिकै वातावरण पनि पर्याप्त थियो ।
बिहीबार ह्वाइट हाउसमा आयोजित ‘स्टेट डिनर’ मा चिनियाँ राष्ट्रपति शिले दुई देशबीचको सहकार्यमा जोड दिए । उनले चीनको उदय अमेरिकाका लागि खतरा नभई अवसर भएको रूपमा प्रस्तुत गरे । “दुवै देशका जनताबीचको मित्रता निकै महत्वपूर्ण र सम्भावना बोकेको विषय हो,” उनले भने, “आउनुहोस्, हातमा हात मिलाएर हामी सँगै अगाडि बढौँ ।”
गत मे महिनामा भएको भेट र अहिलेको भेटमा एउटा मुख्य फरक के थियो भने, ट्रम्पले ह्वाइट हाउसमा केही पत्रकारहरूलाई प्रवेश रोक लगाएपछि सिर्जना भएको विवाद हो । यसले सञ्चारमाध्यमको कभरेजमा केही असर पार्यो, जुन चीनको सरकारी सञ्चारमाध्यमले प्रसारण गर्ने पूर्व-नियोजित र नियन्त्रित समाचारभन्दा बिल्कुलै फरक थियो । यद्यपि, दुवै नेताका अभिव्यक्ति र बोली भने विगतकै जस्तो थियो ।
शिले ट्रम्पको चर्चित नारा “मेक अमेरिका ग्रेट अगेन” लाई आफ्नो “चिनियाँ राष्ट्रको पुनरुत्थान” को योजनासँग तुलना गरे । चिनियाँ राष्ट्रको पुनरुत्थान चीनलाई विश्वस्तरीय सैन्य, औद्योगिक र प्राविधिक क्षमतासहितको विश्वव्यापी शक्तिमा रूपान्तरण गर्ने दशकौँ लामो रणनीतिक सोच हो । तर, यी लक्ष्यहरू हासिल गर्ने क्रममा चीनले गरेको तीव्र प्रगतिले गर्दा अमेरिकी अधिकारीहरू भने सशङ्कित बनेका छन् । जसका कारण अमेरिकाले चिनियाँ आयात, लगानी र अमेरिकी प्रविधिको प्रयोगमा प्रतिबन्धजस्ता संरक्षणवादी कदमहरू चालेको छ ।
चीनको प्रगति रोक्ने अमेरिकी प्रयासका बाबजुद चीनले आफ्नो निर्यात, एआई र रोबोटिक्सको विकासलाई उच्च विन्दुमा राख्न सफल भएको छ । साथै, अमेरिकालाई आवश्यक पर्ने दुर्लभ खनिज पदार्थ (रेयर अर्थ मेटल्स) जस्ता वस्तुहरूमा आफ्नो बलियो पकड कायम राखेको छ। यी सबै कारणले गर्दा शिलाई विगतमा वासिङ्टन आउँदाभन्दा अहिले धेरै बलियो स्थिति (लेभरेज) मिलेको छ। त्यसैले अहिलेका लागि ठूला नीतिगत सम्झौताभन्दा पनि यस्ता कुटनीतिक औपचारिकता र शिष्टाचार नै शिका लागि पर्याप्त देखिन्छन्।
कूटनीतिक दोहोरोपन
अमेरिका र चीनबीचको द्वन्द्वले विश्वव्यापी भू-राजनीति र आपूर्ति शृङ्खला (सप्लाई चेन) मा पारेको प्रभावलाई हेर्दा, यो वर्षको सुरुमा उनीहरूबीचको सम्बन्धमा आएको सुधारलाई धेरै विश्लेषकहरूले सकारात्मक रूपमा लिएका थिए ।
तर, यो भ्रमण गत मे महिनामा ट्रम्प बेइजिङ जाँदाको घटनाक्रमकै निरन्तरता जस्तो मात्र देखियो, जहाँ कुनै ठोस निर्णय हुनुको सट्टा केवल प्रतिकात्मक र औपचारिक गतिविधिहरूमा मात्र सीमित रह्यो । त्यसयता, आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावको पूर्वसन्ध्यामा ट्रम्पले इरानसँगको लम्बिँदो युद्ध र बढ्दो मुद्रास्फीतिका कारण तीव्र राजनीतिक दबावको सामना गरिरहेका छन् ।
ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोजस्ता सञ्चारमाध्यमका पत्रकारहरूलाई ह्वाइट हाउसमा प्रवेश रोक लगाएपछि मुख्य टेलिभिजन नेटवर्कहरूले यो बैठकको प्रत्यक्ष प्रसारण गरेनन् । यद्यपि पछि अदालतले उक्त प्रतिबन्ध हटाइदियो, तर ट्रम्पको यो कदमले शिखर वार्ताको सन्देश कसरी बाहिर जान्छ भन्नेमा अमेरिकी र चिनियाँ अधिकारीहरूबीच चिन्ता बढाएको सीएनएनले जनाएको छ ।
गत मे महिनामा ट्रम्प बेइजिङ जाँदा जस्तै, यसपटक शि भने व्यापारिक प्रतिनिधिमण्डल (व्यापारीहरूको टोली) बिना नै वासिङ्टन पुगेका छन् । बेइजिङ फरेन स्टडिज युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक चुई होङजियनका अनुसार, व्यावसायिक प्रतिनिधिमण्डलको अनुपस्थितिले अमेरिका-चीन सम्बन्धमा व्यापार वा व्यवसायका क्षेत्रमा अझै ठोस प्रगति हुन नसकेको सङ्केत गर्छ । “अहिले दुवै पक्ष राजनीतिक स्थितिलाई अझ स्थिर बनाउन चाहने चरणमै छन्,” चुईले भने ।
चिनियाँ विदेश मन्त्रालयका सल्लाहकार वु सिनबोका अनुसार, ट्रम्प टोलीका केही सदस्यहरू अमेरिकी राष्ट्रपतिभन्दा अमेरिका-चीन सम्बन्धप्रति कम सकारात्मक रहेकोमा बेइजिङमा चिन्ता थियो ।
शिले बिहीबार अमेरिकाले चिनियाँ कम्पनी र व्यवसायलाई स्वागत गर्ने विश्वास व्यक्त गरे । आफ्नो सम्बोधनमा ट्रम्पले पनि अमेरिका र चीनबीचको व्यापार र मित्रताको लामो इतिहासबारे चर्चा गरे । “राष्ट्रपति शि र म दुवै जना फरक व्यवस्थाको प्रतिनिधित्व गर्छौँ भन्ने बुझ्छौँ, तर हाम्रा जनताबीचको सम्बन्ध जीवन्त छ। हाम्रो सम्बन्ध यत्तिको सुमधुर कहिल्यै भएको थिएन,” ट्रम्पले भने ।
तर, रातो कार्पेटको स्वागत र मीठा प्रशंसाका बाबजुद दुई देशबीचका मुख्य विवादित मुद्दाहरू भने उस्तै रहे ।
विवादका मुख्य विषय
शिको मुख्य प्राथमिकतामध्ये एक ताइवानप्रति अमेरिकाले गर्दै आएको समर्थनलाई कमजोर बनाउनु हो, जसलाई बेइजिङले आफ्नै भूभाग मान्दै आएको छ । ताइवानको प्रजातान्त्रिक व्यवस्थालाई चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणमा ल्याउनु शिको चिनियाँ पुनरुत्थानको लक्ष्यको एउटा मुख्य हिस्सा हो ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, बन्द ढोकाभित्र भएको छलफलमा चिनियाँ नेताले ट्रम्पलाई ताइवानको स्वतन्त्रताको “विरोध” गर्न दबाव दिएका थिए । ताइवान सम्बन्ध ऐन (ताइवान रिलेसन्स एक्ट) अन्तर्गत आत्मरक्षाका लागि ताइवानलाई हतियार बिक्री गर्न बाध्य भए तापनि अमेरिकाले ताइवानको सार्वभौमसत्ताको विषयमा लामो समयदेखि रणनीतिक मौनता (अस्पष्टता) अपनाउँदै आएको छ ।
यसअघि चीनले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दा सैन्य द्वन्द्व हुनसक्ने चेतावनी दिएको थियो । यद्यपि, बिहीबारको बैठकबारे अमेरिकाले भने कुनै आधिकारिक बयान जारी गरेको छैन ।
यसैगरी, शिले अमेरिकाहरूलाई चीनसँग मिलेर जिम्मेवार ढङ्गले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास व्यवस्थापन गर्न आह्वान गरे । अत्याधुनिक एआई मोडेलहरू मानव नियन्त्रणबाहिर जानसक्ने जोखिम बढेपछि यसको कडाइका साथ नियमन गर्नुपर्ने आवाज उठिरहेको छ, खासगरी विश्वका प्रमुख खेलाडीका रूपमा रहेका अमेरिका र चीनका लागि यो झनै महत्त्वपूर्ण छ ।
अमेरिकाका ठूला एआई कम्पनीहरू ओपनएआई र एन्थ्रोपिकका प्रमुखहरू राम्रा मोडेलहरू विकास गर्ने होडबाजीको गतिलाई सुस्त बनाउनुपर्नेमा सहमत भए पनि, ट्रम्पले भने एआईप्रतिको यो डरलाई चीनलाई फाइदा पुर्याउने एउटा “हावादारी कुरा (होक्स)” मात्र भएको दाबी गरेका छन् ।
अमेरिकी प्रविधि निर्यात नियन्त्रणका बाबजुद चिनियाँ एआईको तीव्र प्रगतिले अमेरिकी अधिकारीहरूलाई चिन्तित बनाएको छ । उनीहरूले चिनियाँ कम्पनीहरूमाथि अमेरिकी मोडेलहरूको नक्कल गरेको आरोप लगाउँदै प्रतिबन्धको सम्भावनासमेत उठाएका छन् । चीनले भने अमेरिकाले चिनियाँ एआईलाई रोक्न खोजे कडा जवाफी कदम चाल्ने चेतावनी दिएको छ ।
तर बिहीबार शिको सन्देश भने सम्बन्धलाई त्यतातर्फ लैजानु हुँदैन भन्ने थियो । “हामी शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहनुपर्छ,” उनले भने ।
– सीएनएनबाट









