नेपालीहरुको महान् पर्व दशैँ नजिकिँदै गर्दा सरकारले चीनसँगका व्यापारिक नाका सञ्चालनमा ल्याउन तीव्र दौडधूप बढाएको छ। बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा ठप्प भएको र हालैको अविरल वर्षाले मुस्ताङको कोरला नाका जोड्ने सडकखण्ड समेत अवरुद्ध भएपछि चीनसँगको सडक सम्पर्क विच्छेद प्रायः बनेको छ। दशैँ आउन अब १८ दिन मात्र बाँकी रहँदा बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले तत्काल सञ्चालन गर्न सकिने सिन्धुपाल्चोकस्थित तातोपानी नाका खुलाउने प्रयासलाई तीव्रता दिएको हो।
तातोपानी नाका सुचारु गर्ने सिलसिलामा सोमबार परराष्ट्र मन्त्रालयमा अर्थ र पूर्वाधार विकास मन्त्रालयका पदाधिकारी तथा नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूबीच छलफल भएको थियो। सो बैठकमा चिनियाँ पक्षले नेपालतर्फको सडक अवस्थाको अनुगमन गरेर मात्र नाका खोल्न सकिने शर्त राखेपछि मंगलबार परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा उच्चस्तरीय सरकारी टोलीले चिनियाँ दूतावासका काउन्सिलरसहितको टोलीलाई तातोपानीको स्थलगत निरीक्षण गराएको छ। भ्रमण टोलीमा अर्थ, भन्सार, पूर्वाधार, उद्योग वाणिज्य मन्त्रालयका प्रतिनिधि, स्थानीय प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।
स्थलगत अनुगमनपछि भन्सार विभागका निर्देशक गोपाल भट्टराईले भ्रमण टोली सहज र सुरक्षित रूपमा फर्किएको र चिनियाँ टोली सकारात्मक देखिएको जानकारी दिए। त्यस्तै सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार नाकातर्फ जाने सडकमा गाडी चलाउन कुनै समस्या नरहेको र कहीँकतै पहिरो गएमा पन्छाउन हेभी उपकरणहरू तयारी अवस्थामा राखिएकाले सडककै कारण नाका अवरुद्ध नहुने स्पष्ट पारेका छन्। चिनियाँ पक्षले अनुमति दिएमा तुरुन्तै साना-ठूला तथा कार्गो गाडीहरू पास हुन सक्ने अवस्था रहेको छ।
यसअघि गत शुक्रबार पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चिनियाँ राजदूत वाङ माओमिङसँग भेट गरी नाका सञ्चालन तथा सहयोगका लागि आग्रह गर्नुभएको थियो भने राजदूत वाङले पनि नाका सञ्चालनमा चीन सरकार सकारात्मक रहेको बताउनुभएको थियो। चीनसँगका नाका बन्द रहेको विषयले संसदमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको बैठकमा सांसद भरतप्रसाद पराजुलीले चाडपर्वका बेला उपभोग्य वस्तुको अभाव हुन नदिन तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको थियो। भदौ १४ देखि चिनियाँ पक्षबाट एकतर्फी रूपमा बन्द रहेको यो नाका खुलाउन नेपाली पक्ष पूर्ण रूपमा आशावादी देखिएको छ।









