भोटेकोशीमा आएको बाढीका कारण पुगेको ठूलो भौतिक तथा मानवीय क्षतिपछि परेको बिमा दाबीमध्ये एक महिनाको अवधिमा ६७ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ। बिमा प्राधिकरणका अनुसार असोज १२ गतेसम्मको तथ्यांक अनुसार कुल २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँको बिमा दाबी परेकोमा ६७ लाख ४८ हजार रुपैयाँ मात्र बीमितहरूले पाएका छन्।
बाढी गएको सुरुवाती ३/४ दिनमा बीमितहरूले स्थलगत अवलोकन नगरी प्रारम्भिक रूपमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी दर्ता गराएका थिए। पछि अवस्था सहज भई स्थलगत निरीक्षण भएपछि दाबी रकम घटेर १५/१६ अर्बमा झरेको थियो। तर, पछिल्ला दिनहरूमा बिमा दाबी थपिने क्रम जारी रहेकाले गत मंगलबारसम्म यो रकम पुनः बढेर २० अर्ब ९८ करोड पुगेको छ। यो तथ्यांक अझै बढ्न सक्ने र प्रारम्भिक भएकाले रकममा थपघट हुन सक्ने प्राधिकरणले जनाएको छ।
कुल परेका बिमा दाबीहरूमध्ये सबैभन्दा बढी क्षति सम्पत्ति बिमा क्षेत्रमा देखिएको छ, जहाँ ५ सय १८ वटा दाबीमार्फत ९ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ माग गरिएको छ। यसैगरी, इन्जिनियरिङ तथा ठेकेदार बिमातर्फ १ सय ६५ वटा दाबीमा ४ अर्ब ४१ करोड ४५ लाख र मोटर बिमातर्फ १ हजार ६६ वटा दाबीमा ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँको दाबी परेको छ। यसका साथै, १ सय ४ वटा पारवहन बिमा दाबीमा २ अर्ब ४५ करोड ५१ लाख, २ सय ९९ वटा अन्य बिमा दाबीमा १ अर्ब ३६ करोड ८५ लाख र २८ वटा स्वास्थ्य बिमा दाबीमा २२ करोड ५२ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति माग भएको बिमा प्राधिकरणको तथ्यांकले देखाउँछ।









