काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठबाट बरामद गरिएको झण्डै २२ किलो सुन चिनियाँ नागरिकको रहेको खुलेको छ। चिनियाँ नागरिकहरूले बूढानीलकण्ठमा घरै भाडामा लिएर अवैध सुनको कारोबार तथा प्रशोधन गर्ने गरेको प्रहरी उच्च स्रोतको दाबी छ।
विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसो चलाएको अप्रेसनका क्रममा अवैध सुनसहित तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।
विभिन्न स्वरूपमा तस्करी, घरभित्रै पगाल्ने उपकरण बरामद
तस्करहरूले विभिन्न स्वरूपमा लुकाएर नेपाल भित्र्याएको सुन बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएर पगाल्ने र नयाँ आकार दिने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले छापा मार्ने क्रममा केही ढिक्का र केही झोल (द्रव) अवस्थामा रहेको सुनका साथै सुन पगाल्न र प्रशोधन गर्न प्रयोग गरिने उपकरणहरूसमेत बरामद गरेको छ।
‘अहिले पनि प्रहरी टोली कार्यक्षेत्रमै खटिरहेको छ। बरामद सुनको जोख्ने र नापजाँच गर्ने काम पूर्ण रूपमा सकिएको छैन। तर, कुल सुन २१ किलोभन्दा बढी र २२ किलोको हाराहारीमा रहेको छ,’ प्रहरी स्रोतले भन्यो।
भारत लैजाने तयारी, पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइने
उक्त सुन कुन नाका वा माध्यमबाट नेपाल ल्याइएको हो भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन। तर, नेपालमा प्रशोधन गरेर भारततर्फ तस्करी गर्ने योजना रहेको प्रारम्भिक सूचना प्राप्त भएकाले पक्राउ परेका चिनियाँ नागरिकहरूसँग कडा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि चिनियाँ नागरिकहरूकै संलग्नतामा ‘ब्रेकसु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन बरामद भएको थियो, जसको अनुसन्धानका क्रममा तस्करहरूले पटक-पटक ठूलो परिमाणमा सुन भित्र्याउने गरेको पोल खुलेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान तीव्र पारिएको र सम्पूर्ण विवरण सार्वजनिक गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको जानकारी दिएको छ।









