२३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026

आचरण उल्लङ्घन र अनुशासनहीनताको कसुरमा सशस्त्र प्रहरीका एआईजी दाहाल सेवाबाट बर्खास्त



काठमाडौँ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ । आचरणसम्बन्धी विषय पटक-पटक उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार र आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याएको कसुरमा उनलाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई यही असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको जानकारी दिएका हुन्।

एआईजी दाहाल चार वर्षे पदावधिका कारण असोज २७ गते अनिवार्य अवकाशमा जाँदै थिए। सशस्त्र प्रहरी बलको नियमावलीमा भएको व्यवस्था अनुसार उनको एक वर्ष पदावधि थप गर्न सशस्त्र प्रहरी मुख्यालयले गृह मन्त्रालयमा प्रस्ताव समेत पठाइसकेको थियो। तर, नियमित अवकाश हुनुभन्दा एक साताअघि नै मन्त्रालयले उनलाई सेवाबाट बर्खास्त गरेको हो।

यसअघि इनाम सापकोटा नामक व्यक्तिसँग सुरक्षासँग सम्बन्धित संवेदनशील कुराकानी भएको प्रमाण फेला परेका कारण उनी निलम्बनमा परेका थिए। एआईजी दाहाल पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ पर्दा राति नै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका कारण पनि विवादमा आएका थिए।

गृह मन्त्रालय स्रोतका अनुसार घटनाको छानबिनका लागि तोकिएका जाँचबुझ अधिकृत एआईजी अञ्जनी पोखरेलले बिहीबार छानबिन प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनमा एआईजी दाहालले प्रधानमन्त्रीसँग सम्बन्धित अति संवेदनशील सूचनाहरूसमेत आदानप्रदान गरेको प्रमाण संलग्न गरिएको छ।

छानबिन क्रममा लिइएको बयानमा दाहालले इनाम सापकोटासँग आफ्नो संवाद भएको कुरा स्वीकार गरेका छन्। बयानमा उनले सापकोटा आफ्नै जिल्लावासी (गृहजिल्लाका) भएका कारण कुराकानी भएको दाबी गरेको गृह स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० मा कर्मचारीलाई गरिने सामान्य र विशेष सजायको व्यवस्था छ भने नियम ११३ ले सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्ने कानुनी प्रावधान किटान गरेको छ। सोही कानुनी प्रावधान र छानबिन समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले दाहालमाथि यो कडा विभागीय कारबाही गरेको हो।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १० : २७ बजे