पोखराको मित्रमिलन सहकारीबाट एक करोड पाँच लाख घूस लिएको आरोप लागेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका तत्कालिन रजिष्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनलाई बुधबार पर्वत सदरमुकाममा रहेको कुश्मा नगरपालिकास्थित आफ्नै कार्यालयबाट पक्राउ गरेको हो । हाल उनी कुश्मा नगरपालिकाको प्रशासकीय अधिकृत थिए । उनले हाल संकटग्रस्त रहेको मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने क्रममा १ करोड ५ लाख रुपैयाँ नगद घूस लिएको आरोप छ ।
मित्रमिलन सहकारीले रकम फिर्ता नगरेको भन्दै अध्यक्ष रमण पौडेलसहित ३२ जनाविरुद्ध १८ करोड २३ लाख ४४ हजार १७ रुपैयाँ बिगो दाबीसहितको प्रतिवेदन तयार पारेको छ ।
सोही प्रतिवेदनले पराजुली दोषी भएको ठहर गरेको थियो । पराजुली दोषी पाइएपछि कास्की प्रहरीले उनलाई पक्राउ गर्न पर्वत प्रहरी गुहारेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको छ ।
मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेलसहित ५ जना चाहिँ यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन् । यो सहकारीमा ३ हजार ४४६ जना बचतकर्ता रहेका थिए ।









