राजधानी काठमाडौंलगायत देशैभर पछिल्लो २४ घण्टा लगातर पानी परेका कारण जनजीवन असहज बनेको छ । डोमेस्टिक उडानहरु अबरुद्ध भएका छन् भने बाढी र पहिरोका कारण ठाउँठाउँमा सडक अबरुद्ध भएको छ ।
अझै शनिबारसम्म देशभर मौसम बदली र वर्षा भइरहने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विभागका अनुसार देशका विभिन्न जिल्लाहरुमा अति भारी वर्षा भएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा १६ ठाउँमा वर्षाले चेतावनी तह पार गरेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको झापामा अति भारी वर्षा भएको छ । झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । चन्द्रगढीमा सबैभन्दा बढी २६३ मिलिमिटर वर्षा मापन भएको छ ।
त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ । इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ । झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ ।
त्यस्तै पाल्पाको जाल्पा र अर्चलेमा समेत धेरै भारी वर्षा भएको छ । जाल्पामा पछिल्लो २४ घण्टामा १४८ र अर्चलेमा १५३ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै मोरङ, सप्तरी र उदयपुरमा समेत पछिल्लो २४ घण्टामा धेरै वर्षा भएको छ ।
एक दिनमै १ सयदेखि २ सय मिलिमिटर पानी पर्दा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । त्यस्तै २४ घण्टाको अवधिमा २ सय मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भनिन्छ । त्यसैगरी ५० मिलिमिटरदेखि १ सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।
राजधानी काठमाडौं उपत्यकामा पनि भीषण वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका धेरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा भएको छ भने यो क्रम शनिबारसम्म रहने महाशाखाको अनुमान छ । यसले काठमाडौं उपत्यकाको जनजीवनलाई पनि प्रभावित बनाएको छ ।
काठमाडौंबाट बाहिरिने र भित्रिने मुख्य नाकाको रुपमा रहेको धादिङको धुनिबेँसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण धादिङको नौबिसे नागढुंगा खण्ड अवरुद्ध भएको छ । लगातारको वर्षासँगै सडक छेउमा आएको पहिरोको लेदोको कारण सडक अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौं भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।
सुरुङमार्गको प्रवेशद्धार अगाडिपट्टि आएको पहिरो बाट झरेको लेदो सडकमा आउँदा अवरुद्ध भएको हो । पहिरो ठूलो भएको र लगातार लेदो सडकमा आएको कारण पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ ।









