नेपाली सेनाले हालै भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारसहित महत्त्वपूर्ण संरचना जोगाउन नसक्नुको कारण ठूलो मानवीय क्षति टार्नु रहेको प्रस्टीकरण दिएको छ । सेनाले आन्दोलनको क्रममा भएको क्षतिप्रति भइरहेको आलोचनाको जवाफ दिँदै तत्कालीन परिस्थितिको विश्लेषण गरेरै निर्णय लिइएको दाबी गरेको छ ।
शुक्रबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले सिंहदरबारमा आगजनी रोक्न पटकपटक प्रयास गरिए पनि आन्दोलनकारी नरोकिएको बताए । “आन्दोलनकारी चारैतिरबाट प्रवेश गरेपछि कि ठूलै मानवीय क्षति हुने गरेर बल प्रयोग गर्नुपर्थ्यो कि सेना पछि हट्नु पर्थ्यो,” उपरथी थापाले भने, “हामीले मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्वपूर्ण हुने निष्कर्षसहित तत्कालीन परिस्थितिलाई विश्लेषण गरेरै निर्णय गरेका हौँ ।”
सेनाका अनुसार सिंहदरबार जोगाउनका लागि ४६ राउन्ड हवाइ फायर गरिएको थियो र आन्दोलनकारीलाई दुई पटकसम्म भौतिक रूपमा धकेलेर बाहिर निकालिएको थियो । तर, उत्तेजित भीड नरोकिएपछि ठूलो मानवीय क्षति हुने अवस्था टार्नका लागि संयमता अपनाइएको सेनाको भनाइ छ ।
विमानस्थलमा आक्रमणको प्रयास विफल
नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यका साथ भेला भएका करिब २ हजार प्रदर्शनकारीमध्ये १५ जना जर्किनमा पेट्रोलसहित आएको र आफूहरूले रोकेको दाबी गरेको छ । युद्ध कार्य विभागका निर्देशक सहायक रथी मनोज थापाले विमानस्थलमा तोडफोड भई बन्द भएको भए अन्तर्राष्ट्रिय जगतमा देशको छवि धमिलिने सम्भावना अत्यधिक रहेको बताए । सेनाले भदौ २५ गतेबाट विमानस्थल नियमित सञ्चालन गर्न भूमिका खेलेको र विदेशी पर्यटकहरूलाई सुरक्षित राखिएको जनाएको छ ।
यस्तै, २४ गते राति नै पशुपतिनाथ मन्दिरको दक्षिण र पश्चिम गेटमा भेला भएका प्रदर्शनकारीलाई हटाएर मन्दिर सुरक्षित राखिएको पनि सेनाले जानकारी दियो ।
डाटा सेन्टर जोगाउन सफल
सिंहदरबारको मुख्य भवनमा आगजनी भए पनि नेपाली सेनाको पहलबाट राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको एलएमबीआईएस सहितको डाटा सेन्टर आगजनीबाट जोगाउन सफल भएको युद्धकार्य विभागले जनाएको छ । एक जर्नेल आफैँ फिल्डमा खटिएर १८ घण्टा ननस्टप काम गरेका कारण डाटा सेन्टर जोगिएको र यसले देशको वित्तीय प्रणाली ठप्प हुनबाट बचेको सेनाको भनाइ छ ।
आगो निभाउन काठमाडौं महानगरका दमकल पनि परिचालित
सिंहदरबारमा आगलागी नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाको दमकल परिचालन नभएको भन्ने आलोचनाको सेनाले खण्डन गरेको छ । सेनाका अनुसार काठमाडौं महानगरपालिकाको दमकल राति ८ बजे सिंहदरबार पुगेको थियो र आन्दोलनकारीले दमकलकै पाङ्ग्रामा चढेर सुतेका कारण तुरुन्तै आगो निभाउन समस्या भएको थियो । भोलिपल्ट बिहान ८-९ बजेतिर अधिकांश ठाउँको आगो निभेको र महानगरसहित १२ वटा दमकलले आगो निभाएको सेनाको दाबी छ ।
जेन-जीका प्रतिनिधि र दुर्गा प्रसाईंसँग वार्ता
आन्दोलन नियन्त्रणका लागि असम्बन्धित व्यक्तिहरूसँग वार्ता गरेको भन्ने आशंकाबारे सेनाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न बहुआयामिक प्रयासको रूपमा छलफलहरू गरिएको प्रस्टीकरण दिएको छ । उपरथी थापाले भने, “सेनाले राजनीति गर्दैन । तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढङ्गले मूल्याङ्कन गरी आवश्यक पहलकदमी दिएको मात्र हो।”
सेनाले भदौ २४ राति १० बजेबाट काठमाडौं उपत्यकाभित्र ६ हजारभन्दा बढी फौज परिचालन गरेको र उपत्यकाबाहिर १८ हजार बढी फौज तैनाथ गरिएको जनाएको छ । सेनाले जिम्मा लिएको ६ देखि ८ घण्टापछि सुरक्षा अवस्था सामान्य बन्दै गएको दाबी गरेको छ ।
जेन-जी आन्दोलनका क्रममा देशका ४८४ स्थानहरूमा प्रदर्शन भएको र ७६ जनाको मृत्यु भएको सेनाको विवरणमा उल्लेख छ । सेनाले हाल स्थिति सामान्य भए पनि २१ स्थानको सुरक्षामा खटिइरहेको जनाएको छ ।









