मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्दै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई शुक्रबार साँझ मुख्यमन्त्रीमा नियुक्ति दिएका हुन्।
शनिबार बिहान शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ। सात दलीय गठबन्धनको तर्फबाट यादवले शुक्रबार अपरान्है मुख्यमन्त्री पदको दाबी पेश गरेका थिए।
नयाँ सरकार गठनको तयारीमा जुटेको सात दलीय गठबन्धनसँग मधेस प्रदेश सभामा दुई तिहाइभन्दा बढी बहुमत छ। यादवलाई नेपाली कांग्रेससँगै जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त छ।
प्रदेश सभाको वर्तमान संरचना अनुसार एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका नौ–नौ, नेकपा एकीकृत समाजवादीका सात तथा नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका एक–एक सांसद छन्।
गठबन्धनसँग दह्रो संख्या बल रहेकाले यादव नेतृत्वको नयाँ सरकार सहज रूपमा अघि बढ्ने संकेत देखिएको छ।









