२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा तीन घण्टा लामो ‘वान टू वान’ वार्ता



‘जेनजी’ आन्दोलनको प्रभाव र सत्ता बहिर्गमनपछिको तिक्ततापूर्ण सम्बन्धलाई चिर्दै प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संवाद सहज हुन थालेको छ ।
बिहीबार बिहान करिब ११ बजे दलका कुनै पनि नेताहरूलाई नलिई बालुवाटार पुगेका ओली र प्रधानमन्त्री कार्कीबीच करिब तीन घण्टासम्म एकान्त वार्ता भएको थियो । सुरुवाती दिनहरूमा एक-अर्काप्रति निकै आलोचनात्मक रहँदै आएका यी दुई शीर्ष व्यक्तित्वबीचको यो भेटलाई पछिल्लो राजनीतिक घटनाक्रम र आगामी निर्वाचनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाप्रति चासो व्यक्त गरेका थिए । पारिवारिक छलफलपश्चात् भएको गहन राजनीतिक वार्तामा प्रधानमन्त्री कार्कीले चुनावको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिँदै दलहरूको सघन सहयोगको अपेक्षा गरेकी थिइन् । उनले संसद् पुनःस्थापनाको सार्वजनिक माग राख्दै आए पनि निर्वाचन प्रक्रियामा एमालेले देखाएको सक्रियता र समयमै समानुपातिक सूची बुझाएकोमा ओलीको प्रशंसा समेत गरे । विशेष गरी कांग्रेस लगायतका दलले समय थपको आशय व्यक्त गर्दा पनि एमालेले तोकिएकै मितिमा सूची बुझाएर निर्वाचनप्रति सकारात्मक भूमिका खेलेको प्रधानमन्त्रीको बुझाइ छ।

यद्यपि, छलफलका क्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीको आधिकारिक अडान भने परिवर्तन गरेका छैनन् । उनले संसद् पुनःस्थापनाकै बाटोबाट मुलुकलाई सही ट्रयाकमा ल्याउन सकिने धारणा दोहोर्‍याएका थिए, जसलाई सरकारले चुनावी एजेण्डाका रूपमा मात्र बुझेको बताइएको छ । एमालेले भर्खरै महाधिवेशन सम्पन्न गरी उम्मेदवार सिफारिसको प्रक्रिया अघि बढाएको सन्दर्भमा सरकार निर्वाचनप्रति कत्तिको विश्वस्त छ भन्ने बुझ्न पनि ओली बालुवाटार पुगेको विश्लेषण गरिएको छ । यता प्रधानमन्त्री कार्की भने फागुन २१ को चुनावी मिति कुनै पनि हालतमा तलमाथि नगर्ने अडानमा स्पष्ट हुनुहुन्छ र सोही अनुरूप तयारीलाई तीव्रता दिएको छ ।

निर्वाचनको वातावरण सहज बनाउन सरकारले अन्य असन्तुष्ट समूहहरूसँग पनि संवाद जारी राखेको छ भने निर्वाचन प्रहरी भर्ना र मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । एमालेका एक पदाधिकारीका अनुसार, अध्यक्ष ओली अब प्रधानमन्त्री कार्कीको विकल्प खोज्ने भन्दा पनि संवादमार्फत निकास निकाल्ने पक्षमा छन् । भेटपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले एमाले निर्वाचनको बाधक नभई सक्रिय सहभागी हुने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । यसअघि पुस ८ मा शीतल निवास र पुस १२ मा बालुवाटारमा भएका सामूहिक छलफलपछि बिहीबारको यो एकल भेटले सरकार र प्रमुख प्रतिपक्षी दलबीचको दूरी घटाउन मद्दत पुगेको देखिन्छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ११ : ०७ बजे