२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

इरानमा सरकारविरोधी आन्दोलन चर्किँदै, ट्रम्पले आएदैछु भनेको के होला?



वाशिङ्टन/तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सरकारविरोधी प्रदर्शनलाई लक्षित गर्दै आन्दोलन जारी राख्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा सन्देश जारी गर्दै ट्रम्पले इरानी प्रदर्शनकारीलाई “आन्दोलन जारी राख्नुस्, सहयोग आउँदैछ” भनेका छन् ।

ट्रम्पले भनेको ‘सहयोग’ कस्तो प्रकारको हुने र कहिले आउँछ भन्नेबारे स्पष्ट नखुलेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । ह्वाइट हाउसस्थित स्रोतका अनुसार ट्रम्पको राष्ट्रिय सुरक्षा टोलीले इरानसम्बन्धी विकल्पहरूबारे छलफल गर्न मंगलबार बैठक गर्ने तयारी गरेको छ। हालै ट्रम्पले इरानमा हस्तक्षेपको सम्भावनासमेत सार्वजनिक रूपमा उल्लेख गरेका थिए।

इरानमा पछिल्ला हप्ताहरूदेखि जारी सरकारविरोधी आन्दोलनमाथि सुरक्षा निकायले कडा दमन गरेपछि ठूलो संख्यामा मानवीय क्षति भएको आशंका गरिएको छ। समाचार संस्था रोयटर्सलाई एक इरानी सुरक्षा अधिकारीले दिएको जानकारीअनुसार प्रदर्शन दमनका क्रममा करिब दुई हजार जनाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ, जसमा सुरक्षाकर्मीसमेत छन्।

इन्टरनेट सेवा बन्द गरिएको अवस्थाबीच केही इरानीहरूले विदेशमा रहेका परिवारसँग सम्पर्क गर्न थालेका छन्। उनीहरूले देशभित्र व्यापक मृत्यु र विनाश भएको विवरण सुनाएका छन्। तर जारी इन्टरनेट ब्ल्याकआउटका कारण घटनाको स्वतन्त्र पुष्टि गर्न कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच, एक प्रदर्शनकारी एरफान सोल्तानीलाई ‘भोलि नै मृत्युदण्ड दिइने’ खबर सार्वजनिक भएको छ। एक मानवअधिकार संस्थाले यो मुद्दा अत्यन्तै छिटो अघि बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ट्रम्प प्रशासनले इरानमाथि थप दबाब सिर्जना गर्न सैनिक (किनेटिक) र गैरसैनिक दुवै विकल्पबारे छलफल गरिरहेको छ। ट्रम्पले यसअघि पनि रणनीतिक अस्पष्टता अपनाउँदै आफ्नो वास्तविक कदमबारे स्पष्ट संकेत नदिने शैली देखाउँदै आएका छन्।

यसै सन्दर्भमा बेलायत सरकारले पनि इरानको कडा आलोचना गरेको छ। बेलायती विदेशमन्त्री युभेट कूपरले इरानमा प्रदर्शनकारीमाथि भएको दमनलाई पछिल्ला १३ वर्षयताकै सबैभन्दा क्रूर दमनको संज्ञा दिएकी छन्। उनले इरानी राजदूतलाई बोलाएर घटनाप्रति गम्भीर आपत्ति जनाइएको जानकारी दिएकी छन्।

संयुक्त राष्ट्रसंघले पनि इरानमा गरिएको इन्टरनेट बन्दले अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको उल्लंघन भएको बताएको छ। मानवअधिकारसम्बन्धी तथ्य संकलन र उल्लंघनको अभिलेखीकरणमा इन्टरनेट बन्दले गम्भीर असर पारिरहेको यूएनको भनाइ छ।

अन्तर्राष्ट्रिय समुदायको चासो र दबाब बढ्दै जाँदा ट्रम्पको ‘सहयोग आउँदैछ’ भन्ने अभिव्यक्तिले इरानको आन्तरिक संकट थप जटिल मोडतर्फ जान सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : १२ बजे