६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

काठमाडौँ उपत्यकामा २०६५ को निर्माण मापदण्ड नै लागू हुने, सर्वोच्चको फैसला



काठमाडौँ उपत्यकामा नदी तथा खोलाको किनारमा संरचना निर्माण गर्दा २०६५ सालमा मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्ड नै लागू हुने भएको छ । सुप्रिम कोर्ट नेपालको पूर्ण इजलासले अघिल्लो फैसला सच्याउँदै पुरानै मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको हो ।

यसअघि २०८० पुस ३ गते न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले सरकारले तोकेको दूरीभन्दा थप २० मिटर छाडेर मात्र निर्माण गर्नुपर्ने फैसला गरेको थियो । उक्त फैसला पुनरावलोकन गर्दै पूर्ण इजलासले २०६५ मंसिर १ गते मन्त्रिपरिषद्ले तय गरेको मापदण्ड नै कायम रहने निर्णय गरेको हो । फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरिएको छ ।

अब बागमती, विष्णुमती र मनोहरा खोलाको किनारमा २० मिटर छाडेर निर्माण गर्न पाइनेछ । धोबीखोलामा आयोजना क्षेत्रभित्र परियोजनाको योजना अनुसार र अन्य स्थानमा ९ मिटर, नख्खु खोलामा १२ मिटर, बल्खु, कर्मनासा, कोइक, साले र महादेव खोलामा १० मिटर, करखुसी खोलामा ६ मिटर तथा टुकुचा, सामाखुसी र अन्य साना खोलामा ४ मिटर छाड्नुपर्नेछ ।

सर्वोच्चले कुनै पनि खोलाखोल्सी र राजकुलो छोप्न नपाइने पनि स्पष्ट गरेको छ । साथै हनुमन्ते खोला बग्ने नगरोन्मुख गाउँपालिकाहरूमा पनि खोलाको किनारबाट २० मिटर छाडेर मात्र निर्माण गर्न पाइनेछ ।

फैसलाले फ्लोर एरिया रेसियो १.२५ बाट बढाएर १.५ कायम गरेको छ । यसबाहेक अन्य विषयमा भने अघिल्लो संयुक्त इजलासकै आदेश यथावत् राखिएको छ ।

यो निर्णयसँगै यसअघि थप २० मिटर दूरी कायम गर्ने र त्यसभित्र बनेका संरचना हटाउने आदेश खारेज भएको छ। अब काठमाडौँ उपत्यकामा निर्माणसम्बन्धी कार्य २०६५ सालको सरकारी मापदण्डअनुसार नै सञ्चालन हुनेछ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ९ : २४ बजे