नेपाल मेडिकल काउन्सिलले विदेशमा रहेका नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ ।
काउन्सिलको पूर्ण बैठकले यसअघि ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय उल्टाउँदै उनीहरूको लाइसेन्स यथावत राख्ने निर्णय गरेको हो ।
उक्त निर्णयको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विरोध गरेको थियो । एनआरएनएले विदेशमा कार्यरत नेपाली चिकित्सकहरूको लाइसेन्स कायम राख्न काउन्सिलसँग आग्रह गरेको थियो ।
एनआरएनएको आग्रहपछि काउन्सिलले विदेशमा रहेका नेपाली चिकित्सकलाई गैरआवासीय नेपाली नागरिक चिकित्सकका रूपमा काउन्सिलमा दर्ता हुन आह्वान गर्ने निर्णय गरेको छ ।
काउन्सिलले गैरआवासीय नेपाली चिकित्सक दर्ता तथा चिकित्सकीय अभ्यास सम्बन्धी कार्यविधि, २०८१ संशोधन गर्ने तथा यससम्बन्धी व्यवस्थालाई नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा समावेश गर्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।
यससँगै काउन्सिलले शिक्षा तथा सीपीडी समिति, दर्ता समिति, विदेशी नागरिक चिकित्सक दर्ता समिति, व्यावसायिक आचरण तथा स्वास्थ्य समिति, परीक्षा समिति, दन्त समिति र खरिद एकाइ गठन गरेको छ ।









